आइतबार इरानसँगको युद्ध अन्त्य सम्झौतामा हस्ताक्षर हुने ट्रम्पको दाबी
काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्।
शनिबार राति गरिएको पोस्टमा ट्रम्पले अमेरिकी समयअनुसार आइतबार सम्झौतामा हस्ताक्षर हुने तालिका रहेको उल्लेख गर्दै हस्ताक्षरपछि हर्मुज जलमार्ग सबैका लागि खुला हुने बताएका छन्।
ट्रम्पका अनुसार इरानले अब आणविक हतियार विकास गर्ने चाहना त्यागेको छ र भविष्यमा कुनै पनि माध्यमबाट त्यस्तो क्षमता हासिल गर्न नपाउने व्यवस्था गरिनेछ। उनले अमेरिका–इरान सम्बन्ध अघिल्ला प्रशासनहरूको तुलनामा सुधारिएको दाबी पनि गरेका छन्।
उनले पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा जस्तो इरानलाई ठूलो परिमाणमा नगद सहायता नदिइने स्पष्ट पार्दै सम्झौता अन्तर्गत कुनै आर्थिक आदानप्रदान नहुने बताएका छन्।
ट्रम्पले इरानका बाँकी रहेका आणविक भट्टीहरू अमेरिकी बी–२ बमवर्षक विमानमार्फत ध्वस्त पारिने र इरानसँग रहेको करिब ४०० किलो उच्च प्रशोधित युरेनियम पनि नष्ट गरिने दाबी गरेका छन्।
उनले उक्त उच्च प्रशोधित युरेनियमलाई “आणविक धुलो” को संज्ञा दिँदै सबै प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि पहाडमुनि गाडिएको सामग्री निकालेर इरान वा अमेरिकामा नष्ट गरिने बताएका छन्।
ट्रम्पले अमेरिका इरान तथा समग्र मध्यपूर्वसँग सहकार्य गर्न इच्छुक रहेको बताउँदै सम्झौता छिट्टै टुंग्याउन चाहेको बताए । उनले सम्झौता हुन नसके पनि अमेरिकासँग अन्य विकल्प रहेको संकेत गर्दै आशा व्यक्त गरेका छन् कि त्यस्तो विकल्प प्रयोग गर्नुपर्ने अवस्था अब नआओस्।
यसैबीच, अमेरिका–इरान तनाव अन्त्यका लागि मध्यस्थताको भूमिका खेलिरहेको पाकिस्तानले आगामी २४ घण्टाभित्र सम्झौता हुने दाबी गरेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले शनिबार सामाजिक सञ्जाल एक्समार्फत दुवै पक्षबीच विद्युतीय माध्यमबाट सम्झौतामा हस्ताक्षर हुने सम्भावना रहेको बताएका थिए।
यद्यपि, इरानले भने सम्झौताको समयसीमाबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेईले रोयटर्ससँग कुरा गर्दै सम्झौता छिट्टै हुन सक्ने सम्भावना रहे पनि ठ्याक्कै मिति तय भइनसकेको बताएका छन्।
रोयटर्सका अनुसार प्रस्तावित समझदारीपत्रमा स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउने र इरानी बन्दरगाहमाथि लगाइएका अमेरिकी नाकाबन्दी हटाउने विषय समावेश छन्। युद्धपश्चात इरानले हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले उक्त क्षेत्रमा नौसैनिक उपस्थिति बढाउँदै इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको थियो।
सम्झौतामा आणविक कार्यक्रमसम्बन्धी विषयमा भने छुट्टै वार्ता गर्ने प्रस्ताव गरिएको छ। अमेरिकाले इरानले भविष्यमा परमाणु हतियार विकास गर्न नपाउने सर्त राखेको छ भने इरान त्यसमा सहमत भएको छैन। त्यस्तै, इरानसँग रहेको करिब ४०० किलो उच्च समृद्ध युरेनियमको व्यवस्थापनबारे पनि दुवै देशबीच मतभेद कायम छ।
प्रस्तावअनुसार अमेरिकाले इरानका अर्बौं डलर बराबरका रोक्का सम्पत्ति क्रमशः फुकुवा गर्ने तथा तेल निर्यातसम्बन्धी केही प्रतिबन्ध खुकुलो बनाउनेछ। बदलामा इरानले हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला गर्नेछ।
स्रोतहरूका अनुसार प्रस्तावित समझदारीमा तेहरानका लागि सम्भावित युद्ध क्षतिपूर्ति तथा इरानको क्षेप्यास्त्र कार्यक्रममाथि अमेरिकाले लामो समयदेखि राख्दै आएको केही प्रतिबन्धात्मक माग पुनरावलोकन गर्ने विषय पनि समावेश गरिएको छ।
