जी-७ सम्मेलनविरुद्ध स्विट्जरल्यान्डमा प्रदर्शन उग्र बन्दा प्रहरीले अश्रुग्यास प्रहार
जेनेभा । फ्रान्समा आयोजना हुन लागेको जी-७ शिखर सम्मेलनको विरोधमा स्विट्जरल्यान्डको जेनेभामा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनका क्रममा टेस्ला गाडीमा आगजनी गर्नुका साथै संयुक्त राष्ट्रसंघसँग सम्बन्धित एक कार्यालयको झ्यालसमेत तोडफोड गरिएको बताइएको छ।
प्रारम्भमा शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा करिब २० हजार मानिस सहभागी भएका थिए। तर पछि केही प्रदर्शनकारीहरूले पुँजीवाद, आर्थिक असमानता र बहुपक्षीय संस्थाप्रतिको असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरेका थिए।
प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीहरूले सडकबाट इँटा उखेलेर प्रहरीमाथि प्रहार गरेका थिए। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। अश्रुग्यासका कारण प्रदर्शनस्थल वरपर अफरातफरीको अवस्था सिर्जना भएको र बालबालिकासमेत प्रभावित भएको बताइएको छ।
जी-७ सम्मेलनविरुद्ध हुने यस्ता प्रदर्शन नयाँ भने होइनन्। विगतका वर्षहरूमा पनि सम्मेलनलाई लक्षित गर्दै पुँजीवाद, भूमण्डलीकरण, जलवायु संकट तथा सामाजिक असमानताविरुद्ध विभिन्न समूहले विरोध प्रदर्शन गर्दै आएका छन्।
प्रदर्शनकारीहरूको भनाइमा जी-७ विश्वका शक्तिशाली राष्ट्रहरूको राजनीतिक तथा आर्थिक प्रभुत्वको प्रतीक बनेको छ। उनीहरूले सम्मेलनले विश्वव्यापी असमानता घटाउनभन्दा शक्तिशाली राष्ट्रहरूको हितलाई प्राथमिकता दिने आरोप लगाएका छन्।
एक प्रदर्शनकारी पिप्पा सौगीले जी-७ लाई ‘धनीहरू अझ धनी बन्ने संरचनाको प्रतिनिधि’ भएको टिप्पणी गरिन्। अर्की प्रदर्शनकारी क्लेलिया कोलिनले सम्मेलनले प्रतिनिधित्व गर्ने मूल्य र नीतिहरूले लैंगिक असमानतालाई थप बल पुर्याएको आरोप लगाइन्।
यसैबीच, जेनेभा तालको किनारस्थित एभियान-लेस-बेन्समा जुन १५ देखि १७ सम्म हुने जी-७ शिखर सम्मेलनमा फ्रान्स, बेलायत, क्यानडा, जर्मनी, इटाली, जापान र अमेरिकाका शीर्ष नेताहरू सहभागी हुँदैछन्। युरोपेली संघका प्रतिनिधिहरू पनि सम्मेलनमा उपस्थित रहनेछन्।
सम्मेलनमा पश्चिम एसिया र युक्रेनका युद्ध, अन्तर्राष्ट्रिय सुरक्षा, व्यापार तथा विश्व अर्थतन्त्रका विषय प्रमुख एजेन्डा रहने अपेक्षा गरिएको छ। सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सम्मेलनस्थल वरपर व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ भने जेनेभाका विभिन्न क्षेत्रमा सयौं दंगा प्रहरी परिचालन गरिएको छ।
