`

राप्रपाबाट किन उछिटिए धवल समशेर ?

Nepal One HD २ असार २०८३ ११:०५
राजनीति

काठमाडौं। राजावादी दलका रूपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल समशेर राणासहित १८३ जनाले पार्टी छोडेपछि त्यसको पृष्ठभूमि र कारणबारे विभिन्न चर्चा सुरु भएको छ।

पार्टीभित्र लामो समयदेखि कट्टर राजतन्त्रवादी धारको प्रतिनिधित्व गर्ने नेताहरूबीच शक्ति सन्तुलन र नेतृत्वको विषयलाई लिएर असन्तुष्टि बढ्दै गएको बताइन्छ। डा. राणालाई वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी तथा नवराज सुवेदीको समेत उत्प्रेरणा रहेको दाबी गरिएको छ।

अध्यक्ष लिङ्देनमाथि दबाब सिर्जना गर्ने उद्देश्यले केही नेताहरूले राणालाई साथ दिएको चर्चा भए पनि अन्ततः उनले राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डालाई अघि सार्दै पार्टी नै परित्याग गरेका हुन्।

सुरुआती चरणमा डा. राणासँगै विक्रम थापा र रविन्द्र मिश्रलाई पनि एउटै मोर्चामा ल्याउन सकिने आकलन गरिएको बताइए पनि त्यसअनुसार परिस्थिति विकसित हुन नसकेको दाबी गरिन्छ।

राप्रपाका प्रवक्ताको जिम्मेवारीबाट हटाइएपछि अध्यक्ष लिङ्देनसँग असन्तुष्ट बनेका सगुन लावतीले पनि पार्टी विभाजनको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।

त्यस्तै, कुन्ती शाहीले असन्तुष्ट पक्षलाई रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको तथा काठमाडौं र भक्तपुरका केही जिल्ला अध्यक्षहरूले समेत पार्टी त्याग्न प्रोत्साहन गरेको दाबी गरिएको छ।

स्रोतका अनुसार पार्टी फुटाउन केन्द्रीय समितिका २५ प्रतिशत र परिषद्का ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने कानुनी व्यवस्था रहेकाले त्यो संख्या जुटाउन सम्भव नभएपछि डा. राणा पक्षले पार्टीभित्रै विभाजनको प्रयासभन्दा बाहिरिने विकल्प रोजेको हो।

पार्टी छोड्नेहरूमा पूर्वअध्यक्ष कमल थापानिकट मानिएका सुनसरीका केही नेता तथा कार्यकर्ता पनि रहेको बताइएको छ। त्यसैगरी रविन्द्र मिश्र समर्थक केही सदस्यहरूले समेत पार्टी परित्याग गरेका छन्। दमन बस्नेत र बिन्दा गिरीलगायतका नेताहरू पनि सोही धारमा रहेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार नेतृत्व तहमा ब्राह्मण–क्षेत्री समुदायको प्रभाव देखिए पनि राप्रपाको संगठनात्मक गतिविधिमा जनजाति समुदायको सक्रिय सहभागिता रहेको छ। जनजाति समुदायबीच पार्टीको प्रभाव अपेक्षाकृत बलियो रहेको दाबी गरिन्छ।

यता, पार्टीभित्रै अध्यक्ष लिङ्देनको नेतृत्वलाई लिएर फरक मत पनि सुनिने गरेको छ। केही नेताहरूले लिङ्देन संयोगवश पार्टीको नेतृत्वमा पुगेको दाबी गर्दै आएका छन्।

धवल समशेर राणासहितको बहिर्गमनले राप्रपाभित्रको आन्तरिक शक्ति समीकरण र भावी राजनीतिक दिशाबारे थप बहस सुरु गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *