विश्वकप ‘फ्री’ मा देखाउन संसदमा नेकपाको माग (भिडियाे)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रमेश हमालले फिफा विश्वकप फुटबल सबै नागरिकले निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले विश्वकप आम जनताको चासो र आकर्षणको विषय भएकाले प्रसारणका लागि लिइँदै आएको ९९९ रुपैयाँ शुल्क हटाउनुपर्ने बताएका हुन्।
उनले धेरै दर्शक विश्वकप हेर्न इच्छुक भए पनि शुल्कका कारण पहुँचबाट वञ्चित भइरहेको उल्लेख गर्दै अब पर्याप्त आम्दानी भइसकेको हुनसक्ने तर्क गरे। ‘धेरै मानिसहरू विश्वकप हेर्न व्यग्र छन्, तर शुल्कका कारण पहुँच पुर्याउन सकिरहेका छैनन्। अब त शुल्क उठाउने काम पर्याप्त भइसकेको होला,’ उनले भने।
सांसद हमालले सरकारको स्वामित्वमा रहेको टेलिभिजनमार्फत विश्वकप निःशुल्क प्रसारणको व्यवस्था गर्न तथा सेवा प्रदायक कम्पनीहरूलाई समेत यस विषयमा आवश्यक निर्देशन दिन सरकारको ध्यानाकर्षण गराए।
