४० वर्षीय ‘भोजिन्हा’को त्यो ऐतिहासिक प्रदर्शन
काठमाडौं। विश्वकप फुटबलमा सधैँजसो अप्रत्याशित नतिजाहरूले दर्शकलाई चकित बनाउने गर्छन्। सोमबार स्पेन र केप भर्डेबीचको गोलरहित बराबरी पनि त्यस्तै ऐतिहासिक क्षण बन्यो, जहाँ विश्व वरीयतामा तेस्रो स्थानमा रहेको स्पेनलाई ६४ औं स्थानको केप भर्डेले रोक्न सफल भयो।
४१ वर्षीय पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्किएको भनेर चर्चा भइरहँदा ४० वर्षीय केप भर्डेका गोलकिपर जोसिमार डायज, जसलाई ‘भोजिन्हा’ भनेर चिनिन्छ, ले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत विश्व फुटबलको ध्यान खिचेका छन्।
स्पेनजस्तो शक्तिशाली टोलीविरुद्ध भोजिन्हाले गरेको प्रदर्शन खेलको निर्णायक पक्ष बन्यो। स्पेनले खेलमा ६२ प्रतिशत बल नियन्त्रण राख्दै २३ प्रहार गर्यो भने केप भर्डेले ६ प्रहार मात्र गर्न सक्यो। तर स्पेनका ८ शट अन टार्गेटमध्ये महत्वपूर्ण बचाउ गर्दै भोजिन्हाले आफ्नो टोलीलाई हारबाट जोगाए।
डिफेन्सिभ रूपमा पनि केप भर्डे अनुशासित देखियो। स्पेनले ७६४ पास खेल्दा केप भर्डेले २७५ पास मात्र खेल्यो। तर मैदानमा उनीहरूको संगठित र कडा रक्षापंक्ति स्पेनका लागि ठूलो चुनौती बन्यो।
खेल गोलरहित बराबरीमा सकिएपछि सबै ध्यान भोजिन्हातर्फ केन्द्रित भयो। क्यामेराहरू उनको वरिपरि घुम्दा उनी भावुक देखिए र देशको झन्डा ओढेर मैदानमा आँसु झार्दै गरेका दृश्य विश्वभर भाइरल बने।
खेलपछि उनले आफ्नो भावनाको कारण खुलाउँदै परिवारसँग सम्बन्धित पीडा साझा गरे। हजुरबा–हजुरआमाको निधन भइसकेको र आमाले भिसा समस्याका कारण खेल हेर्न आउन नसकेको उनले बताए। आर्थिक अभावका कारण परिवारलाई मैदानमा देख्न नपाएको पीडाले आफू भावुक बनेको उनको भनाइ थियो।
सानो देश केप भर्डे (करिब ४ हजार २२ वर्ग किलोमिटर क्षेत्रफल) का मिन्हेलोमा जन्मिएका भोजिन्हाको यात्रा संघर्षपूर्ण रह्यो। सैनिक परिवारमा जन्मिएर हजुरबा–हजुरआमाको संरक्षणमा हुर्किएका उनले विभिन्न युरोपेली लिगका तल्लो स्तरका क्लब हुँदै पेशेवर करियर सुरु गरेका थिए।
२५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका भोजिन्हा अहिले ४० वर्षको उमेरमा विश्वकपमा पहिलो पटक खेल्दै इतिहास रचेका छन्। उनको प्रदर्शनले केप भर्डेलाई विश्व फुटबलमा नयाँ पहिचान दिलाएको छ।
यस खेलपछि भोजिन्हाको चर्चा विश्वभर फैलिएको छ। सामाजिक सञ्जालमा उनका फलोअर्स लाखौँले बढेका छन् भने उनलाई विश्वकपको सबैभन्दा प्रेरणादायी खेलाडीमध्ये एकका रूपमा हेरिएको छ।
