`

फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित

Nepal One HD ४ असार २०८३ ८:२४
खेलकुद

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार बिहान सम्पन्न खेलमा घानाले अन्तिम क्षणमा गोल गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

खेलको पहिलो हाफमा पानामाले प्रभावशाली प्रदर्शन गर्दै अधिकांश समय बल नियन्त्रणमा राखेको थियो। थोमस क्रिस्टियान्सेनको प्रशिक्षणमा रहेको टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि घानाको रक्षापंक्तिलाई भेद्न सकेन।

दोस्रो हाफमा भने घानाले खेलमा सुधार गर्दै आक्रामक शैली अपनायो। निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा रहे पनि इन्जुरी समयको पाँचौँ मिनेटमा क्यालेब यिरेन्की नायक बने। ब्रान्डन थॉमस–असान्टे र एन्टोइन सेमेन्योको समन्वयपूर्ण आक्रमणलाई सदुपयोग गर्दै उनले निर्णायक गोल गरेका हुन्।९५औँ मिनेटमा भएको उक्त गोल विश्वकप इतिहासमा घानाले सबैभन्दा ढिलो समयमा गरेको गोलका रूपमा समेत दर्ज भएको छ।

जितसँगै घानाले समूह ‘एल’ मा तीन अंक जोडेको छ। समान तीन अंक रहेको इङ्गल्यान्डसँग घाना शीर्ष स्थानमा रहेको छ। इङ्गल्यान्डले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो।उता खेलभर उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा गोल बेहोरेको पानामाले भने प्रतियोगितामा अंकविहीन सुरुआत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *