`

के लेन्डुप पथमा छन् बालेन ?

Nepal One HD ४ असार २०८३ १९:०९
राजनीति

काठमाडौं। गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदको रोष्टममा उभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भनेर दिएको अभिव्यक्तिमा अहिले राजनीतिक र कुटनीतिक जमात केन्द्रित छ। 

प्रधानमन्त्रीले रोष्टममा उभिएर आफ्नो मुलुकले छिमेकी मुलुकको सीमा मिचेको हो भन्नु सम्भवत : यो विश्व इतिहास कै पहिलो घटना हो। 

उक्त भनाइलाई लिएर जनीतिक र कुटनीतिक वृत्तबाट शाहकाे चर्काे आलाेचना भइरहेकाे छ। संसद बैठक सुरु हुने बित्तिकै संसदहरू यसै विषयलाई लिएर संसद अवरोध गरिरहेका छन्।  

यद्यपि सत्ता पक्ष यस विषयमा मौन छ।  नत सार्वभौम संसदका सभामुख नै उक्त अभिव्यक्ति हटाउन रुलिङ गर्न सकिरहेका छन्।

सत्ता पक्ष सीमाका सम्बन्धमा दिएको उक्त अभिव्यक्तिलाई सामान्यीकरण गर्न खोजिरहेको छ।  तर ज्ञात रहोस् सीमाका सन्दर्भ बोलिएका एक शव्द,एक गलत वाक्य तथा एक गलत निर्णयले नै सिङ्गो देशले ठुलो नोक्सानीको सामना गर्नुपर्ने हुन सक्छ। यस्तै अभिव्यक्तिले विश्व इतिहासमा कतिपय साना भूगोल भएका देशहरुले आफ्नो अस्तित्व नै गुमाउनु परेको दृष्टान्त छ्यापछ्याप्ती भेटिन्छन्।   

नेतृत्वको कमजोरीले नहुँदा देशले नै अस्तित्व गुमाएको ज्वलन्त उदाहरण छिमेकी मुलुक भारतको सिक्किम हुनसक्छ। सिक्किमकै दृष्टान्तबाट बालेन सरकारले प्रष्ट बुझ्नुपर्छ ।

सिक्किम कसरी  ‘लेन्डुप दोर्जे’का कारण भारतमा गाभियो ?

सिक्किम पहिले एक स्वतन्त्र राज्य थियो। त्यहाँ राजतन्त्रात्मक प्रणाली थियो र चोग्याल राजा शासन गर्थे।

१९७० को दशकमा राजनीतिक अस्थिरता, आन्दोलन र आन्तरिक द्वन्द्वपछि सिक्किमको राजनीतिक संरचना परिवर्तन हुँदै भारतमा विलय भएको ऐतिहासिक घटना घटेको थियो। 

सन् १९६४ मा जवाहरलाल नेहरूको निधनपछि भारतको प्रधानमन्त्रीमा उनको छोरी इन्दिरा गान्धी चुनिएसँगै सिक्किम विलयको योजना बनेको थियो। जसको गोटी बनेका थिए ‘लेन्डुप दोर्जे’ । 

इन्दिराले आफ्नो मन्त्रिपरिषद्को पहिलो बैठकमै ‘पिता नेहरूले नेपाल, भुटान र सिक्किमलाई भारतमा बिलय नगरेर गल्ती गरेको’ उल्लख गर्दै त्यसलाई चाल्न ठोस कदम चाल्नुपर्ने बताएकी थिइन् ।

तत्कालिन राजा पाल्देन थोन्दुप नामग्यालकी अमेरिकी श्रीमती होप कुकले एउटा जर्नलमा लेखा प्रकाशित गर्दै भारतले पुरानी सिक्किमको थुप्रै सम्पति भोगचलन गरिरहेकाले त्यो तत्काल फिर्ता गर्नु पर्ने बताएपछि इन्दिरा निकै क्रुद्ध भइन् । पूर्ण स्वतन्त्र सिक्किमकी शक्तिशाली महारानी हुने आकांक्षासाथ पाल्देनसँग बिहे गरेकी ति अमेरिकी महिलाको चाहना बिरुद्ध अर्की बिदेशी महिला लाई नै प्रयोग गरियो ।

ति थिइन्, बेल्जियमकी एलिजा मारिया स्ट्याण्डफोर्ड, जसले सन् १९५७ मा प्रजातन्त्र स्थापनार्थ लागेका लेन्डुप दोर्जेसँग बिबाह गरेकी थिइन् । गणतान्त्रिक सिक्किमको प्रथम महिला बन्ने उनको चाहना थियो । यी दुइ महिलाको चाहनाबीच टकराव गराएर बाजी जितिन् इन्दिराले । र, सिक्किमलाई भारतको २२औं राज्य बनाउन सफल भइन् ।

सन् १९७० को सुरुवातमा लेन्डुपको नेतृत्वमा सिक्किम नेसनल कंग्रेस पार्टीले राजा बिरोधि अभियान चर्कायो । भारतीय गुप्तचर संस्थाहरू आईबी तथा ‘र’ ले लेन्डुपलाई आर्थिक लगाएतका सहयोग गराउथे । सन् १९७३मा राजाविरोधि आन्दोलन चरमोत्कर्षमा पुग्यो । ‘र’ ले पाल्देनलाई पनि कुनै न कुनै रुपमा राजतन्त्र जोगाइदिने आश्वासन दिएको थियो ।

त्यही भरमा ठुलो संख्याको विद्रोहीले दरवार घेरा हाले पछि राजा पाल्देनले सहयोगका लागि भारतको लागि गुहारे । मौका पर्खेर बसेको भारतले कत्ति ढिलो नगरी प्रमुख प्रशासक बीएस दासको नेतृत्वमा एउटा टोलि पठायो । स्थितिलाई नियन्त्रणमा लिएपछि ‘र’को योजना अनुरुप लेन्डुपको पार्टी र भारत सरकार सँग त्रिपक्षीय सम्झौता गर्न राजालाई बाध्य पारियो । सम्झौताले राजाको अधिकारमा व्यापक कटौती त गर्यो नै, सिक्किम भारतको सह-राज्य जस्तै पनि बन्यो । सन् १९७४ मा सम्पन्न निर्वाचनमा लेन्डुपको पार्टीले भारी बहुमत ल्यायो र सकार बनायो । त्यसै बेला देखि लेन्डुपलाई अघि सारेर भारतले सिक्किममा बिजयी अपरेसन शुरु गऱ्यो। 

सन् १९७१मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएर भुटान उम्किए जस्तै सिक्किम पनि उम्कने डर भारतलाई थियो । लेन्डुप नेतृत्वको सरकारले २०३२ बैशाख १ मा गरेको जनमत सँग्रहले सिक्किमलाई भारतमा गाभ्ने निर्णय गऱ्यो ।

खासमा जनमत सँग्रह बाँकी विश्वलाई देखाउने नाटक थियो, त्यही भयो जे भारत चाहन्थ्यो । मतदानका क्रममा भारतीय सैनिकले बन्दुक तेर्स्याएर धाधली गरेका थिए । जनमतसँग्रहको पुर्वअनुमानित घोषणालगत्तै पहिले देखि छेउछाउ आइबसेका पाँच हजार भारतीय सैनिकले गान्तोकमा धावा बोले र करिव ३ सयको हाराहारीमा रहेका सिक्किम गार्ड्स लाई नियन्त्रणमा लिई राजालाई बन्दी बनाए । यसरी सिक्किम भारतमा गाभियो । २०३२ जेठ २ गते मा यसको विधिवत् घोषणा सँगै लेन्डुप सिक्किमको मुख्य मन्त्री बने, जसलाई बैध्यता दिन संयुत्त राष्ट्रसंघले पनि ढिला गरेन ।

सन् १९७९मा सम्पन्न चुनावबाट नरबहादुर भण्डारी सिक्किमको मुख्यमन्त्री बनेपछि लेन्डुपको सार्वजनिक जीवन समाप्त्त भयो । लेन्डुपको पार्टीले एउटा पनि सिट जितेन ।

जीवनको उत्तरा खण्डमा लेन्डुप भन्ने गर्थे, ‘मैले सिक्किमलाई भारतमा मिलाउन यत्रो योगदान गरेँ, तर काम लिएपछि मलाई इन्डियनहरूले वास्ता गरेनन् । पहिला दिल्लीमा मलाई रेड कार्पेट ओछ्याएर स्वागत गरिन्थ्यो, अहिले त सामान्य नेता भेट्न पनि हप्तौँ पर्खाउँछन् ।’

सन् १९९० मा श्रीमती एलिजको निधनपछी एक्लिएको लेन्डुपको पनि सन् २००७ जुलाई २८ कालिङपोङस्थित ‘चाकुङ हाउस’मा मृत्यु भयो । 

लेन्डुप पथमा बालेन ?

प्रधानमन्त्री बालेनलाई नेपालको राजनीतिक परिवेशमा ‘लेन्डुप दोर्जे’ भन्ने शब्द पछिल्लो समय आलोचित समेत गरेको सुन्ने गरिन्छ। उनले नेपालले पनि भारतको भूमी मिचेको छ भनेर राष्ट्रघात, राष्ट्रिय स्वार्थविपरीत काम गर्ने गरेको आरोप लागेको छ।   

बालेनलाई भारतको हितका लागि देशको हित त्याग्ने पात्रको प्रतीकका रूपमा प्रयोग गरिन थालिएको छ ।

प्रधानमन्त्री शाहले संसदको रोष्टममा उभिएर कसको स्वार्थमा उक्त अभिव्यक्ति बोले? र किन बोले ? गल्ति वा टंकस्लीप भएको भए किन सच्याउन हिच्किचाउँछन् माफी माग्न ? राष्ट्रियहित भन्दा ठुलो व्यक्तिगत अहंता हो ? प्रश्नका उत्तरहरु निरुत्तरित छन्। राष्ट्रिय हितका विषयमा पनि सत्तापक्ष र प्रतिपक्ष किन एउटै साझा धारणा बनाउन सकिरहेका छैनन्। के लेन्डुप दोर्जेको बाटोमा त छैन सरकार प्रश्न व्यापक उठिरहेको छ। 

आन्तरिक राजनीतिक अस्थिरता, अनावश्यक शक्ति संघर्ष र अविश्वासलाई नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियालाई मजबुत र निष्पक्ष बनाउनु पर्नेमा जनविश्वासको अनादर गरेको समेत आलोचना हुने गर्छ।  

बालेन नेतृत्वको सरकारले नेपालको सार्वभौमिकता जोगाउन आफ्नो आन्तरिक एकता, राज्य संस्थाको शक्ति र कूटनीतिक सन्तुलनलाई यसरी नै कायम राख्छ भन्ने प्रश्न उठिरहेको छ।  

सरकारले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय मुद्दामा न्यूनतम साझा सहमति बनाउनुपर्नेमा सरकार एकल बाल हठ नछोडी बसेको आलोचना व्यापक हुन थालेको छ। 

सीमा, राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिमा कुनै विभाजन देखिनु हुँदैन। राज्यका संयन्त्रहरूलाई कमजोर वा विवादित हुन नदिई पूर्ण रूपमा पारदर्शी, जवाफदेही र जनविश्वासयुक्त बनाउनुपर्नेमा बालेन सरकारले  ध्यान दिन जरुरी छ। राष्ट्रियहितलाई केन्द्रमा राखेर काम गर्न आवश्यक देखिन्छ। 

आज सम्म क-कसलाई लाग्यो ‘लेन्डुप दोर्जे’को ट्याग ?

एक समय यस्तो आरोप मुख्यतः नेपाली कांग्रेस र विशेषगरी कोइराला परिवारमाथि लगाइन्थ्यो। तर २०५४ सालको महाकाली सन्धिपछि यो आरोप कम्युनिस्ट नेताहरूतर्फ पनि सोझिन थाल्यो।

महाकाली सन्धी संसदबाट पारित गराउन सक्रिय भूमिका खेलेका एमालेका नेता माधवकुमार नेपाल, केपी शर्मा ओली र विद्यादेवी भण्डारीमाथि तत्कालीन असन्तुष्ट पक्षले ‘महाकाली बेचुवा’ र ‘लेन्डुप दोर्जे’ जस्ता आरोप लगाएका थिए।

यही विवादले एमालेभित्र गम्भीर मतभेद सिर्जना गर्‍यो र अन्ततः पार्टी विभाजनसम्म पुग्यो। त्यसबेला राष्ट्रवादको परिभाषा राजनीतिक प्रतिस्पर्धाको हतियार बनेको देखिन्थ्यो।

केही विश्लेषकहरूले राजा महेन्द्रको शासनकालमा भारतसँग गोप्य समझदारी भएको दाबी गरेका छन् भने त्यसको स्पष्ट र निर्विवाद प्रमाण आजसम्म सार्वजनिक हुन सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *