किन गइन् सुनिता डंगोल मध्यरातमा इजरायल?
काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल इजरायल प्रस्थान गरेकी छन्।
राजधानी तेल अविभमा आयोजना हुन लागेको ‘म्युनिसिपल कन्फरेन्स’ को दशौं संस्करणमा सहभागी हुन उनी गएराति त्यसतर्फ प्रस्थान गरेकी हुन्।
डंगोलको नेतृत्वमा तीन सदस्यीय टोली इजरायल गएको हो। टोलीमा महानगरका प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा पनि सहभागी छन्।
तीन दिनसम्म चल्ने ‘सफल साझेदारी’ (विनिङ पार्टनरसिप) सम्मेलनमा विश्वका करिब १५० भन्दा बढी शहरका प्रमुख, नगरपालिका प्रतिनिधि, सरकारी अधिकारी, शहरी योजनाकार तथा विज्ञहरूको सहभागिता रहने बताइएको छ।
सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्स्पो) तथा विभिन्न व्यावसायिक तथा प्राविधिक भ्रमणमा पनि नेपाली प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
नेपालबाट काठमाडौं महानगरपालिकासहित पोखरा महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पनि उक्त कार्यक्रमका लागि सहभागी भएका छन्।
