कोशी प्रदेशसभा : बजेटमाथिको सामान्य छलफल सुरु
विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सुरु भएको छ।
बैठकमा कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा प्रस्ताव गरे । छलफलमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले सरकारले प्रस्तुत गरेको बजेटले वितरणलाई बढाव दिएको प्रतिक्रिया दिइन्।
बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट रामबहादुर रानामगरले मनसुनको प्रारम्भमा नै मेची राजमार्गमा आएको समस्यामा सरकारको ध्यानाकर्षण गराए। उनले इलामदेखि माथि मेचीराजमार्गमा आएको अवरोधप्रति सरकारले वैकल्पिक उपाय अपनाउनुपर्ने माग गरे।
सदस्य मगरले विपद् व्यवस्थापन र भौतिक निर्माणमा सरकारले विगतदेखि अपनाउँदै आएको नीति तथा अभ्यासमा परिमार्जन गर्नुपर्ने सुझाव दिँदै असार ४ गते राति कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीद्वारा भएको खानतलासीको निन्दा गरे। उनले प्रहरीको यो शैली र प्रयोग राम्रो होइन भन्दै यस सम्बन्धमा छानबिन हुनुपर्ने माग गरे।
सदस्य रानाले नेपाली चियालाई निरुत्साहित बनाउन भारतीय बजारमा भएको रबैयाप्रति सरकारले समयमै ठोस कदम चाल्नुपर्ने धारणा राखे। उनले संवैधानिक अङ्ग आफ्ना अधिकार र क्षेत्रभित्र रही काम गर्नुपर्ने धारणा राखे।
नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गोपाल तामाङले झापाको बाहुण्डाँगी क्षेत्रमा दिनप्रतिदिन जङ्गली हात्तीको समस्या बढ्दै गएकाले यसप्रति सरकार गम्भीर बत्रुपर्ने धारणा राखे।
उनले अहिले जङ्गली हात्तीका कारण सो क्षेत्रका जनता आन्दोलित रहेको जानकारी दिँदै हात्तीलाई उचित व्यवस्थापन एवं बाटो पहिल्याउन दक्ष जनशक्तिको व्यवस्था हुनुपर्ने बताए।
बर्सेनि हुने जनधनको क्षतिबाट जोगाउन भारतबाट आउने जङ्गली हात्तीलाई धपाउन रबर गोली प्रयोग गर्न स्वीकृति दिनुपर्ने भन्दै सदस्य तामाङले हात्तीबाट पीडित जनतालाई न्याय दिन माग गरे।
नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले आगामी बजेटमा सिँचाइ र खानेपानीका निम्ति सरकारले गरेको विनियोजन सराहनीय रहेकाे भन्दै सरकार पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा चुकेको प्रतिक्रिया दिए। उनले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पराजुलीको विराटनगर स्थितको निवासमा प्रहरीले मारेको छापाको निन्दा गर्दै यस सम्बन्धमा छानविन हुनुपर्ने धारणा राखे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले एकता गरेर बसेको हाम्रो समाजलाई वर्गीकरण गरेर विभाजित गरेको बताउँदै भ्रातृत्व, मेलमिलाप, सद्भावबाट नै नेपाली समाज बलियो हुने धारणा राखे। उनले निहीत स्वार्थका लागि संस्कृति र संस्कार माथि खेलबाड गर्न नहुने भन्दै मेची राजमार्गमा तत्काल देखिएका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने कुरामा जोड दिए।
