किन भेटिँदैन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको वेबसाइट ?
काठमाडौं । नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको आधिकारिक वेबसाइट सञ्चालनमा आएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यविभाजनमार्फत स्थापना गरेको मन्त्रालयले वेबसाइट सार्वजनिक गरे पनि आवश्यक सूचना तथा सेवामूलक सामग्री भने अझै पर्याप्त रूपमा समावेश हुन सकेको छैन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन गरेपछि मन्त्रालय गठन गरिएको थियो। प्रारम्भिक चरणमा प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको मन्त्रालयमा २६ जेठमा महावीर पुन मन्त्री नियुक्त भएका थिए।
मन्त्री नियुक्त भएको करिब एक सातापछि मन्त्रालयको वेबसाइट सञ्चालनमा ल्याइएको भए पनि त्यसमा मन्त्रालयको संरचना, नीति, कार्यक्रम, सेवा प्रवाह, सम्पर्क विवरण तथा अन्य आवश्यक जानकारी सीमित मात्रामा राखिएको देखिएको छ।
मन्त्रालयका प्रवक्ताले वेबसाइट हाल प्रारम्भिक चरणमा रहेको र आवश्यक सामग्री थप्ने तथा परिमार्जन गर्ने काम जारी रहेको बताएका छन्। उनका अनुसार तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले सीमित विवरण राखेर वेबसाइट सार्वजनिक गरिएको हो।
यद्यपि वेबसाइट सञ्चालनमा आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ नाम नेपाली वा अंग्रेजीमा खोज्दा प्रमुख सर्च इन्जिनहरूमा सहज रूपमा फेला नपर्ने अवस्था रहेको छ। वेबसाइट अझै प्रभावकारी रूपमा इन्डेक्स हुन नसक्दा सर्वसाधारणलाई पहुँचमा कठिनाइ भइरहेको छ।
सूचना प्रविधि र नवप्रवर्तनको नेतृत्व गर्ने मन्त्रालयकै वेबसाइट खोज प्रणालीमा सहज रूपमा उपलब्ध नभएको विषयलाई सूचना प्रविधि क्षेत्रका जानकारहरूले चासोका साथ हेरेका छन्। उनीहरूका अनुसार सरकारी वेबसाइटहरू सार्वजनिक गर्दा सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ), पहुँचयोग्यता र प्रयोगकर्ता अनुभवलाई सुरुदेखि नै प्राथमिकता दिनुपर्ने हुन्छ।
नयाँ मन्त्रालयले विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा डिजिटल रूपान्तरणसम्बन्धी नीति निर्माण र समन्वयको जिम्मेवारी पाएको छ।
तसर्थ मन्त्रालयको डिजिटल उपस्थितिलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
