वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
काठमाडौं । कञ्चनपुरमा एक वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममै हातपात गरेको आरोपमा एक पत्रकार पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पत्रकार ऐश्वर्या कुँवरलाई आइतबार नै नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
घटना भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटा माथि हातपात भएको आरोपसँग सम्बन्धित हो। आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा दुवै पक्षबीच विवाद भएको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार कार्यक्रमका क्रममा सुरु भएको भनाभन चर्किँदै जाँदा पत्रकार कुँवरले वडाध्यक्षमाथि हातपात गरेकी थिइन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषयले व्यापक चर्चा पाएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। घटनामा संलग्न दुवै पक्षका विवरण संकलन गरी कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइने बताइएको छ।
सार्वजनिक कार्यक्रममा भएको उक्त घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन् भने सम्बन्धित निकायहरूले घटनालाई कानुनी प्रक्रियामार्फत टुंग्याउनुपर्ने धारणा व्यक्त गरेका छन्।
