`

भाग नपुग्दा रडाको, अड्कियो रास्वपा महाधिवेशन

Nepal One HD ९ असार २०८३ ११:३८
बिशेष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन व्यवस्थापकीय कमजोरी, प्राविधिक चुनौती र आन्तरिक राजनीतिक मतभेदका कारण निर्धारित कार्यतालिकाअनुसार अघि बढ्न नसकेको छ।

बन्दसत्र सुरु नै हुन नसक्नेगरि महाधिवेशन एक दिन थप किन लम्बियो ? यसले पार्टीको संगठनात्मक तयारी र आन्तरिक समन्वय क्षमतामाथि प्रश्न उठाएको हो।

आइतबार औपचारिक उद्घाटन सत्र ढिलाइका बीच सम्पन्न भए पनि त्यसपछि सुरु हुने भनिएको बन्दसत्र सोमबार दिनभर अन्योलमै रह्यो।

बिहानदेखि नै चितवन प्रदर्शनी केन्द्रमा भेला भएका महाधिवेशन प्रतिनिधिहरू बैठक सुरु हुने प्रतीक्षामा बसे पनि साँझसम्म कुनै औपचारिक प्रक्रिया अघि नबढेपछि निराश हुँदै फर्किन बाध्य भए।

पार्टी नेतृत्वले प्रारम्भिक रूपमा यो समस्या प्राविधिक तथा व्यवस्थापकीय कमजोरीका कारण भएको बताएको छ। प्रतिनिधिहरूको सूची रुजु, परिचयपत्र छपाइ तथा उपस्थिति अभिलेख व्यवस्थापनमा देखिएको कमजोरीका कारण बन्दसत्र समयमै सुरु गर्न नसकिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार करिब ३० जना सांसदसमेत प्रतिनिधि सूचीमा नपरेपछि व्यवस्थापन झनै जटिल बनेको थियो, जसले समग्र तयारी प्रभावित बनायो।

तर पार्टीभित्रका अन्य स्रोतहरूले भने समस्या केवल प्राविधिक मात्र नभई राजनीतिक प्रकृतिको पनि रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार बन्दसत्र रोकिनुमा संगठनभित्र जेनजी पुस्ताको प्रतिनिधित्व, केन्द्रीय समिति संरचना र नेतृत्व चयन प्रक्रियासम्बन्धी मतभेदले समेत महत्वपूर्ण भूमिका खेलेको छ।

पार्टीभित्र देखिएको विवाद विशेषगरी नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेको बताइन्छ। केही प्रभावशाली नेताहरूले सभापतिले मनोनीत गर्ने ५१ सदस्यीय केन्द्रीय संरचनामा जेनजी पुस्तालाई उल्लेख्य स्थान दिनुपर्ने अडान राखे। सोही विषयमा सहमति नजुट्दा बन्दसत्र सुरु गर्न नसकिएको पार्टी स्रोतको दाबी छ।

यही सन्दर्भमा प्रभावशाली नेता सुधन गुरुङले नयाँ पुस्तालाई निर्णायक तहमा पर्याप्त प्रतिनिधित्व सुनिश्चित नगरी निर्वाचन प्रक्रियामा जान नहुने अडान लिएको चर्चा पनि पार्टीभित्र चल्यो।

महाधिवेशनमा सहभागी युवा प्रतिनिधिहरूले भने पार्टीको स्थापना र विस्तारमा युवाको योगदान निर्णायक रहेको उल्लेख गर्दै नेतृत्व संरचनामा उनीहरूको अर्थपूर्ण प्रतिनिधित्व अनिवार्य हुनुपर्ने धारणा राखे।

यसको विपरीत केही पुराना नेताहरूले भने पार्टी संरचना निर्वाचन प्रक्रियामार्फत अघि बढ्नुपर्ने तर्क गरेका छन्। उनीहरूको भनाइमा नेतृत्व माग वा कोटा प्रणालीबाट नभई प्रतिस्पर्धात्मक प्रक्रियाबाट स्थापित हुनुपर्छ।

महाधिवेशन लम्बिँदा प्रतिनिधिहरूमा असन्तुष्टि बढ्यो। विशेषगरी खेतीपाती  को व्यस्त समयमा गाउँघर छाडेर चितवन आएका प्रतिनिधिहरूले बसाइँ लम्बिँदा आर्थिक भार थपिएको गुनासो गरेका छन्। पार्टीले खानाको व्यवस्था गरे पनि आवास र अन्य व्यक्तिगत खर्च स्वयंले बेहोर्नुपरेको उनीहरूको भनाइ छ।

यसैबीच प्रतिनिधिहरूलाई ढाडस प्रदान गर्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले महाधिवेशनको बन्दसत्र दिउँसो १ बजेपछि सुरु हुने जानकारी दिएका छन्।

प्राविधिक कारणले हिजो बन्दसत्र सुरु गर्न नसकिएको उनले स्पष्ट पारे।

हाल महाधिवेशन प्रतिनिधिहरूका लागि प्रवेश कार्ड वितरणको काम जारी रहेको छ। सो प्रक्रिया पूरा भएपछि खाना समयपश्चात बन्दसत्र औपचारिक रूपमा सुरु गरिने तयारी गरिएको पार्टीले जनाएको छ।

पराजुलीका अनुसार प्रारम्भमा अनुमान गरिएको २८ सयदेखि ३ हजारसम्म प्रतिनिधिको संख्या बढेर ४२ सयभन्दा बढी पुगेपछि व्यवस्थापनमा केही प्राविधिक समस्या देखिएको हो। उनले यही कारणले हिजो कार्यक्रम सुरु गर्न नसकिएको बताए।

उनले भने, ‘इस्टिमेट गरिएको २८ सय/तीन हजार महाधिवेशन प्रतिनिधिको संख्या बढेर ४२ सय प्लस हुँदै गर्दाखेरि केही प्राविधिक त्रुटिका कारण हिजो हामीले सुरु गर्न सकेनौं,’ उनले भने, ‘आज यतिखेर हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको छ । त्यो सकिनेबित्तिकै हामी खाना खाएर आजको बन्दसत्र सुरु गर्दैछौं ।’

उनका अनुसार सबै पूर्वतयारीका प्रक्रिया पूरा भइसकेका छन् र अब बाँकी औपचारिकता सम्पन्न भएपछि कार्यक्रम अघि बढाइने जनाइएको छ।

पराजुलीले महाधिवेशन प्रतिनिधि तथा सञ्चारकर्मीहरूलाई परेको असुविधाप्रति क्षमासमेत मागेका छन्।

यस्तै, रास्वपा महाधिवेशनको व्यवस्थापन र सहभागी संख्या बढेसँगै कार्यक्रम सञ्चालनमा थप समन्वय आवश्यक परेको पार्टी स्रोतले जनाएको छ।

यद्यपि,संगठनात्मक रूपमा आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको रास्वपाको पहिलो महाधिवेशनमै देखिएको व्यवस्थापकीय कमजोरी र आन्तरिक विवादले नेतृत्व क्षमतामाथि प्रश्न उठाएको छ।

यो सँगै पार्टीले दाबी गरेको ‘नयाँ शैलीको राजनीति’ व्यवहारमा कति प्रभावकारी हुन्छ भन्ने विषय पनि बहसमा आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *