`

स्व-व्यवस्थापन गर्नु भन्दै ५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन

Nepal One HD ९ असार २०८३ १३:४६
प्रमुख खबर

काठमाडौं। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई पाँच दिनभित्र भवन खाली गर्न निर्देशन दिएको छ।

समितिले सोमबारदेखि शुक्रबारसम्म स्व-व्यवस्थापन गरी स्थान खाली गर्नुपर्ने भन्दै सूचना टाँस गरेको हो।

हाल उक्त होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बसोबास गरिरहेका छन्। बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोपबहादुर बानियाँका अनुसार प्रत्येक परिवारलाई स्व–व्यवस्थापनका लागि २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ।

उनका अनुसार खाली गर्नुअघि सम्बन्धित परिवारले बैंक खाता विवरणसहित निवेदन पेश गर्नुपर्नेछ। खाता विवरण प्राप्त भएपछि रकम उपलब्ध गराइने र त्यसपछि उनीहरूलाई स्व–व्यवस्थापनमार्फत स्थान खाली गर्नुपर्ने व्यवस्था गरिएको छ।

सूचना अधिकारी बानियाँले भने, ‘राहत प्राप्त गर्न खाता नम्बर सहितको निवेदन पेश गर्न भनिसकेका छौँ, खाता प्राप्त हुनासाथ स्व–व्यवस्थापनका लागि २५ हजार दिन्छौँ।’

समितिका अनुसार भविष्यमा वास्तविक सुकुम्बासीको रूपमा प्रमाणित हुनेहरूका लागि मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने विषयमा पनि योजना रहेको छ।

यसअघि २०८३ वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौं उपत्यकाका नदी किनारामा रहेका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। ती बस्ती हटाइएपछि २ हजार ६०८ जनाले नाम दर्ता गराएका थिए।

सरकारी निर्णयअनुसार होल्डिङ सेन्टरमा राखिएकालाई स्व–व्यवस्थापनका लागि प्रोत्साहनस्वरूप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको उल्लेख छ। सोही नीति कार्यान्वयन अन्तर्गत कीर्तिपुरस्थित होल्डिङ सेन्टर खाली गराउन थालिएको समितिले जनाएको छ।

समितिका अनुसार प्रारम्भिक चरणमा विभिन्न होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई स्व–व्यवस्थापनमा पठाउने योजना रहेको छ। त्यसपछि नमान्नेहरूका सम्बन्धमा सरकारले वैकल्पिक व्यवस्थाबारे निर्णय गर्ने तयारी भइरहेको छ।

सम्बन्धित अधिकारीका अनुसार हाल अन्य होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई पनि चरणबद्ध रूपमा सोही प्रक्रियामा समेटिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *