`

रास्वपा महाधिवेशन : सातै प्रदेशबाट ५-५ केन्द्रीय सदस्य निर्वाचित हुने

Nepal One HD ९ असार २०८३ १६:४७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ।

महाधिवेशनबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित प्रदेशगत आधारमा केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरिएको हो ।

निर्वाचन प्रणालीअनुसार सातवटै प्रदेशबाट ५–५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट कम्तीमा एक जना महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने प्रावधान राखिएको छ। यस व्यवस्थाले पार्टीको नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

महाधिवेशनबाट कुल १५८ सदस्यीय केन्द्रीय समिति गठन हुने जनाइएको छ। तीमध्ये ६४ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचनमार्फत चयन गरिनेछन्।

पार्टीको विधानअनुसार केही सदस्य पदेन तथा मनोनयन प्रक्रियाबाट समावेश गरिने व्यवस्था रहेको छ। यसैअनुसार संस्थापक सभापति रवि लामिछानेलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार रहने व्यवस्था गरिएको छ।

रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संगठनात्मक संरचनालाई पूर्णता दिने तथा आगामी राजनीतिक कार्यदिशा, रणनीति र संगठन विस्तारको मार्गचित्र तय गर्ने लक्ष्य राखेको जनाएको छ।

चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदनका कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्। महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीको आगामी कार्यकालको नेतृत्व सम्हाल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *