`

पोखरा भ्रमणका क्रममा खनालको निधन

Nepal One HD ११ असार २०८३ १४:१८
समाचार

काठमाडौं। होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको मस्तिष्कघातका कारण निधन भएको छ।

‘जाऔं पोखरा पोखरा’ अभियानअन्तर्गत भ्रमणमा रहेका बेला उनी अचानक बिरामी परेका थिए।

गत आइतबार पाल्पा पुगेका क्रममा खनाललाई मस्तिष्कघात भएपछि तत्काल भैरहवास्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारका क्रममा बुधबार उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

४१ वर्षीय खनाल गोरखा जिल्लाको आरुघाट क्षेत्रका स्थायी बासिन्दा थिए। उनी विगत १५ वर्षदेखि होटल संघ पोखरा नेपालमा कार्यालय प्रमुखका रूपमा कार्यरत रहँदै आएका थिए। संघको प्रशासनिक तथा संस्थागत गतिविधिमा उनले महत्वपूर्ण योगदान पुर्‍याएको अध्यक्ष लक्ष्मण सुवेदीले बताएका छन्।

उनको निधनप्रति होटल संघ पोखरा नेपालले गहिरो दुःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ। संघले पर्यटन तथा होटल क्षेत्रले एक मेहनती, जिम्मेवार र अनुभवी कर्मशील व्यक्तित्व गुमाएको उल्लेख गरेको छ।

स्वर्गीय खनालका श्रीमती र एक छोरी रहेका छन्। उनकाे असामयिक निधनले परिवार, आफन्त, सहकर्मी तथा पर्यटन क्षेत्रलाई स्तब्ध बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *