म कसैको फोनले राजनीतिमा आएको होइन : मनिष झा
काठमाडौं। आकांक्षीहरु धमाधम उम्मेदवारी फिर्ता लीइरहेका बेला रास्वपा नेता मनिष झाले भने आफु अन्तिम सम्म महामन्त्री पदमा लड्ने बताएका छन्।
उनले आफु कसैको फोनले राजनीतिमा आएको हैन भन्दै अन्तिम सम्म महामन्त्री पदमा लड्ने बताएका हुन्।
उनले भने,‘म कसैको फोन ले राजनीति गर्न मैदानमा आएको होईन, मा सँग राजनति गर्ने दम र आँट छ।’
पहिलो महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धा रोचक बनिरहेका बेला केही आकाङ्क्षीहरूले उम्मेदवारी फिर्ता लिएर विपीन आचार्यलाई समर्थन गरिरहेका छन्। तर यता झाले भने आफ्नो उम्मेदवारी कायम राख्दै अन्तिमसम्म प्रतिस्पर्धामा रहने अडान दोहोर्याए ।
महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले उम्मेदवारी दिएपछि तत्काल फिर्ता लिने प्रवृत्तिको आलोचना गरे। उनले राजनीति दृढता, विश्वास र प्रतिस्पर्धाको विषय भएकाले दबाब वा परिस्थितिका आधारमा पछि हट्नु उचित नहुने बताए। ‘यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन। हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने? सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिरहन्छन्, परिणाम जेसुकै होस् लागिरहन्छन्,’ उनले भने।
झाले कसैको फोन वा आग्रहका आधारमा आफ्नो निर्णय परिवर्तन नगर्ने स्पष्ट गर्दै आफू अन्तिमसम्म चुनावी मैदानमा रहने बताए। उनका अनुसार नेतृत्व चयनको प्रक्रिया लोकतान्त्रिक प्रतिस्पर्धाबाटै टुंगिनुपर्छ र उम्मेदवारहरूले आफ्नो एजेन्डा तथा क्षमताका आधारमा मत माग्नुपर्छ।
महामन्त्री पदका लागि प्रारम्भिक रूपमा पाँचभन्दा बढी आकाङ्क्षी देखिए पनि पाँच जनाले उम्मेदवारी फिर्ता लिएर विपीन आचार्यलाई समर्थन गरेका छन्। त्यसपछि पनि प्रतिस्पर्धा भने कायम रहेको छ।
अहिले महामन्त्री पदका लागि विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्।
