एउटै मञ्चमा देखिँदै ओली, ‘प्रचण्ड’, माधव र झलनाथ
काठमाडौं। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने विशेष विचार गोष्ठीमा मुलुकका प्रमुख कम्युनिस्ट नेताहरू लामो समयपछि एउटै मञ्चमा सहभागी हुने भएका छन्।
मदन भण्डारी फाउन्डेसनले असार १४ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी आयोजना गर्न लागेको हो।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ। विचार गोष्ठीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन्।
आयोजकका अनुसार कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलन, जननेता मदन भण्डारीको राजनीतिक योगदान तथा समकालीन राजनीतिक परिवेशका विषयमा विचार विमर्श गरिनेछ।
मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममै ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पनि प्रदान गरिने फाउन्डेसनले जनाएको छ।
