मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई झापा बाहुनडाँगी क्षेत्रका हात्तीपीडित नागरिकले ज्ञापनपत्र बुझाएका छन् ।
मुख्यमन्त्री कार्कीलाई नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयले थप समस्या झेल्न नपरोस् भनी मेचीनगर नगरपालिका–१ देखि ४ नं वडासम्मका नागरिकका तर्फबाट ज्ञापनपत्र बुझाइएको हो ।
स्थानीय सन्तोष सुवेदीको नेतृत्वमा रहेको प्रतिनिधिभण्डलले हरेक वर्ष भारतबाट आउने हात्तीको समूहले लगाइएको अन्नबाली नष्ट गर्ने तथा घरगोठ भत्काउने गरेकाले त्यसको स्थायी र प्रभावकारी रोकथाम गर्न मुख्यमन्त्री समक्ष आग्रह गरेको छ ।
बाहुनडाँगीदेखि राजमार्ग उत्तरका बासिन्दालाई भविष्यमा समेत जङ्गली जनावरको आक्रमणबाट जोगाउने प्रभावकारी योजना घोषणा गर्नसमेत ज्ञापनपत्रमा माग गरिएको छ ।
त्यस अवसरमा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले मानव र वन्यजन्तुबीचको द्वन्दका रूपमा रहेको हात्तीसम्बन्धी समस्यालाई समाधान गर्न सरकारले पहलकदमी लिनुपर्ने धारणा राखे ।
