माओवादीबाट चुनाव जितेका उपमेयर रास्वपा महाधिवेशनमा पुगेपछि…
काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका गिरी हालै चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएको विषय सार्वजनिक भएपछि नेकपाले उनीसँग जवाफ मागेको हो।
नेकपाको प्रदेश कमिटीका संयोजक हरिराम चौधरी ‘उत्सव’ले जारी गरेको स्पष्टीकरण पत्रमा गिरीले पार्टीको नीति र अनुशासनविपरीत गतिविधि गरेको उल्लेख गरिएको छ। पत्रमा उनी संघीय निर्वाचनका क्रममा पनि पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा सक्रिय नभएको र पछिल्लो समय अर्को राजनीतिक दलको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएर पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाइएको छ।
यस्तै, गिरी बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने गाउँसभा बैठकमा समेत अनुपस्थित रहेको नेकपाले उल्लेख गरेको छ। उक्त समयमा उनी रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेको जनाइएको छ।
उपाध्यक्ष गिरी अनुपस्थित भएपछि गाउँपालिकाको बजेट गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–१ का अध्यक्ष मिथुन गौतमले प्रस्तुत गरेका थिए।
नेकपाले गिरीलाई स्पष्टीकरण पेस गर्न २४ घण्टाको समयसीमा दिएको छ। प्राप्त जवाफका आधारमा पार्टीले आवश्यक निर्णय गर्ने जनाएको छ।
