टिपरको ठक्करबाट मजदुरको मृत्यु
काठमाडौं। म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा टिपरको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान बा.प्र.०१–००४ क १३७७ नम्बरको टिपर पछाडि फर्काउने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका–४ निवासी ३५ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल बेनी लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
घटनापछि टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका–३ निवासी ३० वर्षीय राजेश घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
मृतक सार्कीको शव परीक्षणका लागि धौलागिरि अस्पताल, बागलुङ पठाइएको प्रहरीले जनाएको छ।
