प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार [फोटो-फिचर]
काठमाडौं । प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा र हिमाली वातावरणका कारण परिचित हेलम्बु पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा थप चर्चामा आउन थालेको छ।
विशेषगरी निर्माणाधीन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ र समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको छ्यादी घ्याङले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाइरहेको छ।
हेलम्बु क्षेत्र काठमाडौंबाट मेलम्ची हुँदै सहज रूपमा पुग्न सकिने गन्तव्य हो। यहाँ विभिन्न स्थानमा रहेका बौद्ध चैत्य, घना हरियाली वन, शीतल हिमाली हावा तथा मनमोहक हिमशृङ्खलाले यात्रुलाई प्रकृतिसँग नजिक बनाउने वातावरण सिर्जना गर्छ। पछिल्ला वर्षहरूमा छ्यादी घ्याङ पनि यस क्षेत्रको नयाँ आकर्षणका रूपमा स्थापित हुँदै गएको छ।
पर्यटन प्रवर्द्धनका उद्देश्यले हालै आयोजित अवलोकन भ्रमणका क्रममा एक टोलीले काठमाडौंबाट मेलम्ची हुँदै छ्यादी घ्याङ तथा निर्माणाधीन हेलम्बु हिमालयन ग्रेट ट्रेलको पदयात्रा गरेको थियो। हालसम्म करिब सात किलोमिटर निर्माण सम्पन्न भएको यो पदमार्ग प्रकृतिप्रेमी र पदयात्रीका लागि रोमाञ्चक अनुभव बन्न थालेको छ।
मार्ग लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको घना जंगल हुँदै अघि बढ्छ। यात्राका क्रममा वनपाखा र डाँडाकाँडामा फुलेका लालीगुराँस तथा विभिन्न प्रजातिका लेकाली फूलले पदयात्रीलाई स्वागत गर्छन्। हिमाली वातावरण, शान्त प्राकृतिक परिवेश र हरियालीले भरिएको यो पदमार्गले यात्रुलाई प्रकृतिसँगै आध्यात्मिक अनुभूति पनि दिलाउने विश्वास गरिएको छ।
यात्राका क्रममा टोली सागबारी क्षेत्रमा पुगेपछि वर्षा र असिनापानीको सामना गर्नुपरेको थियो। करिब नौ घण्टाको पदयात्रापछि टोली ठारेपाटी पुगेको थियो। ठारेपाटीमा पर्यटकका लागि आवश्यक होटल तथा आवासको सुविधा उपलब्ध रहेको छ। यही स्थानबाट प्रसिद्ध गोसाइँकुण्ड जाने पदमार्ग पनि जोडिने भएकाले यसको पर्यटन महत्त्व अझ बढेको छ।
ठारेपाटीबाट करिब दुई घण्टाको थप पदयात्रापछि छ्यादी घ्याङ पुग्न सकिन्छ। उच्च हिमाली क्षेत्रमा रहेको यो स्थानबाट आसपासका हिमशृङ्खलाको आकर्षक दृश्यावलोकन गर्न सकिने भएकाले यसलाई भविष्यको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा हेरिएको छ।
हेलम्बु गाउँपालिकाले पनि यस क्षेत्रको पर्यटन विकासलाई प्राथमिकतामा राख्दै छ्यादी घ्याङको फेदीमा कार्यपालिका बैठक आयोजना गरेको थियो। बैठकमा आन्तरिक पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, हिमनदी तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र दिगो विकासका विषयमा छलफल भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार हेलम्बुमा अझै धेरै प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिएका गन्तव्य छन्, जसको व्यवस्थित विकास गर्न सके आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनमा उल्लेखनीय योगदान पुग्नेछ। उनका अनुसार कार्यपालिकाले प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन पूर्वाधार विस्तार र दिगो पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न नीतिगत निर्णयसमेत गरेको छ।
स्थानीय तहको पहल, पदमार्ग निर्माण र प्राकृतिक आकर्षणको संयोजनले हेलम्बुलाई हिमाली पर्यटनको नयाँ केन्द्रका रूपमा विकास गर्ने सम्भावना बढ्दै गएको छ।
प्रकृति, संस्कृति, पदयात्रा र आध्यात्मिक अनुभव एकै स्थानमा खोज्ने पर्यटकका लागि हेलम्बु र छ्यादी घ्याङ आगामी दिनमा अझ आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
तस्वीरहरू:






















