`

‘प्रधानमन्त्रीलाई अप्ठ्यारो होइन, संसदप्रति जवाफदेही बनाउन खोजेका हौँ’ : सांसद काउचा

Nepal One HD १४ असार २०८३ ११:४१
राजनीति

काठमाडौं। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले विपक्षी दलहरूको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्नु नभई संसदप्रति जवाफदेही बनाउन खोज्नु रहेको बताएकी छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखले बोल्न समय दिएपछि सांसद काउचाले प्रधानमन्त्रीले संसदमा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने विपक्षी दलहरूको माग यथावत रहेको बताइन्। उनले संसदमा उठाइएको विषयलाई प्रधानमन्त्रीले गम्भीर रूपमा लिएर सदनमै स्पष्टीकरण दिनुपर्नेमा त्यसो नगरेको टिप्पणी गरिन्।

काउचाले विपक्षी दलहरूले प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा अप्ठ्यारोमा पार्ने उद्देश्य नराखेको स्पष्ट पार्दै संसदको अभिलेख सच्याउने, राष्ट्रिय हितको रक्षा गर्ने, कूटनीतिक मर्यादा कायम राख्ने तथा प्रधानमन्त्रीको पदको गरिमा जोगाउने उद्देश्यले जवाफ मागिएको बताइन्।

उनले संसद सर्वोच्च राजनीतिक थलो भएकाले त्यहाँ उठेका प्रश्नको उत्तर पनि संसदमै दिनुपर्ने लोकतान्त्रिक अभ्यास रहेको उल्लेख गरिन्। तर प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुको सट्टा आफ्नै पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिन रोजेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *