`

डिजिटल र अनुसन्धानमुखी शिक्षा अपरिहार्य छ : उपराष्ट्रपति यादव

Nepal One HD १४ असार २०८३ १४:५२
राजनीति

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्न नेपालको शिक्षा प्रणालीलाई अनुसन्धान, नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्। 

उनले विद्यालयदेखि विश्वविद्यालयसम्म कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै गुणस्तरीय शिक्षामार्फत सक्षम, सिर्जनशील र आत्मनिर्भर जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन्।

मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले शिक्षा क्षेत्र अझै पनि अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित रूपमा अघि बढ्न नसकेको उल्लेख गरे। उनले डिजिटल शिक्षाको विस्तार र प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गरेर यस कमीलाई पूरा गर्न सकिने धारणा राखे।

उनका अनुसार शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई व्यक्तिमा अनुशासन, विनम्रता, सामाजिक उत्तरदायित्व र सिर्जनात्मक सोच विकास गर्ने आधार हो।

बहुजातीय तथा बहुसांस्कृतिक समाजमा शिक्षा नै सामाजिक सद्भाव र राष्ट्रिय एकताको बलियो आधार बन्न सक्ने भन्दै उनले राष्ट्र निर्माणमा शिक्षाको भूमिका अझ प्रभावकारी बनाउन सुधार आवश्यक रहेको बताए।

उपराष्ट्रपति यादवले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा उन्मुख गराउन शिक्षाले भूमिका खेल्नुपर्ने बताए। त्यसका लागि सीप, अनुसन्धान र नवप्रवर्तनमा आधारित शिक्षामा जोड दिनुपर्ने उनको भनाइ थियो।

शिक्षकलाई राष्ट्र निर्माणका अभियन्ताका रूपमा उल्लेख गर्दै उनले विश्वविद्यालयहरूलाई अनुसन्धान र ज्ञान उत्पादनको केन्द्रका रूपमा विकास गर्न आग्रह गरे।

कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मदन भण्डारी मेमोरियल कलेजले सहज, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाइरहेको बताए।

आगामी दिनमा कलेजलाई अझ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त करिब ४५० सामुदायिक क्याम्पसमध्ये मदन भण्डारी मेमोरियल कलेज उत्कृष्ट १० शैक्षिक संस्थामध्ये पर्न सफल भएको जानकारी दिँदै यस उपलब्धिले कलेजको शैक्षिक गुणस्तर र योगदानलाई पुष्टि गरेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *