`

देशका कम्युनिस्ट क्रान्तिकारी एकताबद्ध हुनैपर्छ : झलनाथ खनाल

Nepal One HD १४ असार २०८३ १५:२४
बिशेष

काठमाडाैं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका सबै कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूबीच दीर्घकालीन वामपन्थी एकताको आवश्यकता औंल्याएका छन्।

आइतबार मदन भण्डारीकाे जन्मजयन्तीकाे अवसरमा काठमाडाैंमा आयाेजित कार्यक्रममा बोल्दै खनालले विगतका विभाजन र अन्तरविरोधलाई अन्त्य गर्दै समाजवादी आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए।

‘यो देशका कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध हुनैपर्छ,’ उनले भने, ‘वामपन्थी एकता अनेकन कालखण्डदेखि जरुरत थियो। हामी एकताबद्ध भयौँ। अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाऔँ।’

विश्‍व राजनीतिक परिस्थितिको चर्चा गर्दै उनले साम्राज्यवादी शक्तिहरूको चुनौती सामना गर्न पनि वामपन्थी एकता अपरिहार्य रहेको बताए।

‘साम्राज्यवादीहरूले बबण्डर मच्चाइरहेका छन्। त्यसविरुद्धको लडाइँका लागि वामपन्थी एकता आवश्यक छ,’ उनले भने। त्यसलगत्तै उनले ‘वामपन्थी एकता जिन्दावाद’ काे नारा समेत लगाए।

खनालले गत वर्षकाे २१ फागुनमा भएकाे प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी शक्तिहरूले बेहोरेको पराजयको मुख्य कारण एकतामा आउन नसक्नु रहेको दाबी गरे।

‘चुनावबाट शर्मनाक ढंगले नेपालको वामपन्थी दलले हार खानुपर्‍यो,’ उनले भने, ‘कम्तीमा चुनावमा गठबन्धन गरेको भए यस्तो हुने थिएन। १०० सिट वामपन्थीकै हुने थियो।’

विगतमा वामपन्थी दलहरूसँग संघ, प्रदेश र स्थानीय तहमा बलियो जनमत हुँदाहुँदै पनि त्यसलाई जोगाउन नसकेको स्वीकार गर्दै उनले आत्मसमीक्षाको आवश्यकता औंल्याए।

‘यो देशका जनताले १७७ सिट दिएका थिए। राष्ट्रियसभा हाम्रो थियो। मधेसबाहेक सबै प्रदेशमा सरकारमा थियौँ। ६० प्रतिशत स्थानीय तह हाम्रो थियो,’ उनले भने, ‘आठ वर्ष नपुग्दै हामी कहाँ आइपुगेका छौँ? के कारणले पराजय बेहोर्‍यौँ? किन भूमिसुधार गर्न सकेनौँ? कसरी कृषि क्रान्ति गर्न सकेनौँ?’

कम्युनिस्ट आन्दोलनले सही कार्यदिशासहित समाजवादी रूपान्तरणको अभियान अघि बढाए मात्र जनविश्वास पुनः प्राप्त गर्न सकिने उनको भनाइ थियो।

‘आज हामी समाजवादी क्रान्ति र रूपान्तरणका लागि सही कार्यदिशा लिएर अगाडि बढ्यौँ र वैज्ञानिक समाजवादको कार्यदिशा लिएर अगाडि बढ्यौँ भने मदन भण्डारीप्रति साँचो सम्मान हुन्छ,’ उनले भने।

खनालले वामपन्थी एकतालाई क्षणिक राजनीतिक समीकरणका रूपमा नभई दीर्घकालीन वैचारिक र संगठनात्मक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *