प्रचण्डले भने- ‘बौद्ध भिक्षुले घण्टी बजाइरहेजस्तै धेरै साथीहरू अझै त्यहीँ बसेका छन्’
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक धारणा र अभिव्यक्तिलाई लिएर बेला–बेलामा विभिन्न कोणबाट व्याख्या हुने गरेको बताएका छन्। उनले परिवर्तन र नयाँ परिस्थितिअनुसार सोच विकास गर्ने विषयलाई गलत अर्थमा नबुझ्न आग्रह गर्दै कम्युनिस्ट आन्दोलन गतिशील हुनुपर्ने धारणा राखे।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले आफू पार्टी एकताको विषयमा हतारिएको नभई कार्यगत सहकार्य र परिस्थितिअनुसारको रूपान्तरणको पक्षमा रहेको स्पष्ट पारे।
‘म बिल्कुल हतारिएको छैन। मलाई मानिसहरूले विभिन्न कोणबाट हेरेर विभिन्न चित्र बनाउने गरेका छन्। मैले क्रमभंगको कुरा गर्यो भने ‘के उत्पात गर्न थाल्यो’ भन्ने गरिन्छ। तर प्रकृति, समाज र मानव समाजको नियम नै निरन्तरताभित्र क्रमभंग हो। मैले त्यही कुरा उठाउने गरेको हुँ,’ उनले भने।
उनले बदलिँदो समयअनुसार विचार र कार्यशैली परिवर्तन गर्न नसक्ने राजनीतिक नेतृत्वले गन्तव्य हासिल गर्न नसक्ने टिप्पणी पनि गरे। एउटै पुरानो सोचमा अडिग रहने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई अगाडि लैजान नसक्ने उनको भनाइ थियो।
‘क्रममै बसिरहनुभयो भने कहीँ पुगिँदैन। हाम्रा धेरै साथीहरू अझै त्यहीँ बसेका छन्। बौद्ध भिक्षुले घण्टी बजाइरहेजस्तै अहिले पनि पुरानै नारामा सीमित हुनु पर्याप्त हुँदैन। अहिले परिस्थिति बदलिएको छ, त्यसअनुसार हामी पनि बदलिनुपर्छ,’ प्रचण्डले भने।
आफ्नो राजनीतिक शैलीलाई कसैले परिवर्तनको पक्षधर र कसैले फरक रूपमा मूल्याङ्कन गर्ने गरेको उल्लेख गर्दै उनले त्यसलाई स्वाभाविक रूपमा लिएको बताए।
‘मलाई कसैले परिवर्तन बुझ्ने नेता भन्नुहुन्छ भने धन्यवाद। कसैले अर्को रूपमा मूल्याङ्कन गर्नुहुन्छ भने त्यसका लागि पनि धन्यवाद। तर परिस्थिति अनुसार विचारलाई परिमार्जन गर्ने क्षमता कम्युनिस्ट आन्दोलनमा हुनैपर्छ,’ उनले भने।
