`

रास्वपा महाधिवेशन : चितवनका तीन सांसद पदाधिकारीमा निर्वाचित

Nepal One HD १४ असार २०८३ १८:२८
राजनीति

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्य पदाधिकारीमा निर्वाचित भएका छन्।चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। क्षेत्र नं. ३ की सांसद सोविता गौतम उपसभापति र क्षेत्र नं. १ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित उपसभापति डा. स्वर्णीम वाग्लेको घर पनि पूर्वी चितवनमा पर्छ। रत्ननगर नगरपालिका–१४, पिठुवास्थित घरमा उनका बुबाआमा बस्दै आएका छन्।

त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।जिल्लाकै नेताहरू प्रकृति ढकाल, सविना विक र आकांक्षा पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। यसअघिका केन्द्रीय सदस्य राजन गौतमको नाम पनि केन्द्रीय सदस्यका लागि चर्चामा रहे पनि आवास तथा खाना व्यवस्थापन समितिमा कार्यव्यस्त रहेकाले उनले उम्मेदवारी दिएनन्।

पौडेलले समग्र केन्द्रीय समितिमा चितवनका धेरै नेताको प्रतिनिधित्व भएको बताए। तीनवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य पार्टी पदाधिकारी बन्नु जिल्लाका लागि गर्वको विषय भएको उनको भनाइ छ। उनले मनोनित हुने ५१ सदस्यभित्र पनि चितवनका नेताहरू पर्ने आकलन गरिएको बताए।हालै भरतपुरमा सम्पन्न महाधिवेशनमा देशभरबाट झन्डै १० हजार प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुक सहभागी भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *