संकटमा अमेरिका-इरान युद्धविराम
काठमाडौं । अमेरिका र इरानबीच भएको अन्तरिम युद्धविराम सम्झौता संकटमा परेको छ। दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै खाडी क्षेत्रमा पुनः सैन्य कारबाही सुरु गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले शनिबार इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको जनाएको छ। त्यसको जवाफस्वरूप इरानले आइतबार बिहान बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडाहरूलाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएको दाबी गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार इरानका निगरानी प्रणाली, सञ्चार संरचना, हवाई प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारणस्थल तथा समुद्री सुरुङ (माइन) बिछ्याउने क्षमतासँग सम्बन्धित पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको हो। अमेरिकी सेनाले शनिबार तेल ट्यांकर ‘किकु’माथि भएको हमलाको प्रत्यक्ष जवाफस्वरूप उक्त कारबाही गरिएको जनाएको छ।
अमेरिकाले इरानलाई युद्धविराम सम्झौता पालना गर्ने अवसर दिइएको भए पनि तेल बोकेको जहाजमाथिको आक्रमणले त्यो अवसर गुमाएको दाबी गरेको छ।
यसबीच राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानका मिसाइल, ड्रोन भण्डारण केन्द्र र तटीय राडार प्रणालीमाथि आक्रमण गरिएको पुष्टि गर्दै कडा चेतावनी दिएका छन्।
उनले भनेका छन्, “एउटा यस्तो समय आउन सक्छ, जब अमेरिका सम्झाउने वा व्यावहारिक बन्ने स्थितिमा रहने छैन। यदि त्यस्तो अवस्था आयो भने इस्लामिक रिपब्लिक अफ इरानको अस्तित्व नै रहने छैन।”
ट्रम्पको चेतावनीपछि कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पार्दै मिसाइल तथा ड्रोन अवरोध गर्न थालेको जनाएको छ। बहराइनको गृह मन्त्रालयले पनि देशभर खतराको साइरन बजाइएको जानकारी दिएको छ।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले आफ्ना नौसेना र वायुसेनाले संयुक्त रूपमा कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरेको पुष्टि गरेको छ। आईआरजीसीले आठवटा अमेरिकी सैन्य अखडालाई पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन।
आईआरजीसीले हालैका अमेरिकी आक्रमणलाई युद्धविरामको उल्लंघन भन्दै त्यसको प्रतिकारस्वरूप कारबाही गरिएको जनाएको छ। साथै, अमेरिकी कदमका कारण कूटनीतिक प्रक्रिया पूर्ण रूपमा अवरुद्ध भएको दाबी पनि गरेको छ।
इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले पनि अमेरिकी सैन्य कारबाहीको कडा विरोध गर्दै होर्मुज जलमार्ग आगामी ३० दिनसम्म इरानको पूर्ण नियन्त्रणमा रहने चेतावनी दिएका छन्।
उनले भने, “यस अवधिमा अमेरिकाले कुनै नयाँ सैन्य आक्रमण गरे क्षेत्रको सुरक्षा अवस्था अझ गम्भीर र जटिल बन्नेछ।”
यसअघि बहराइनको विदेश मन्त्रालयले इरानबाट आफ्नो देशतर्फ धेरै ड्रोन प्रहार गरिएको आरोप लगाउँदै त्यसलाई नागरिक सुरक्षामाथिको खुला खतरा भनेको थियो। बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ बेडाको मुख्यालय रहेको छ।
यस घटनाक्रमसँगै होर्मुज जलमार्ग फेरि अन्तर्राष्ट्रिय तनावको केन्द्र बनेको छ। बेलायतको युनाइटेड किङडम म्यारिटाइम ट्रेड अपरेसन्सले शनिबार एउटा तेल ट्यांकरमाथि आक्रमण भएको जानकारी दिएको छ। चालक दल सुरक्षित रहेको र कुनै वातावरणीय क्षति नभएको जनाइएको छ। आक्रमणको जिम्मेवारी कसैले नलिए पनि आशंका इरानमाथि केन्द्रित छ।
अमेरिकी नौसेनाको निगरानीमा रहेको ‘जोइन्ट म्यारिटाइम इन्फर्मेसन सेन्टर’ले ओमानको तटनजिक समुद्री मार्ग विस्तार गरिएको जनाएको छ। जहाजहरूको आवागमन सहज बनाउन यो निर्णय गरिएको र समुद्री सुरुङ (माइन)को जोखिम अझै उच्च रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
इरानले लामो समयदेखि होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूले आफ्ना निर्देशन पालना गर्नुपर्ने अडान राख्दै आएको छ। साथै, उक्त मार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउन सक्ने चेतावनी पनि दिँदै आएको छ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजिजीले “होर्मुज जलमार्ग इरानको नियन्त्रणमा रहेकाले यहाँका नियमहरूको सम्मान गर्नुपर्छ” बताएका छन्।
तर अमेरिका तथा खाडीका अरब मुलुकहरूले इरानको उक्त दाबी अस्वीकार गर्दै होर्मुज जलमार्ग अन्तर्राष्ट्रिय समुद्री मार्ग भएकाले कुनै एक देशले त्यसमा एकल नियन्त्रण दाबी गर्न नसक्ने स्पष्ट पारेका छन्।
