पाकिस्तानको हवाई आक्रमणमा २९ जना अफगानी मारिएको दाबी
काठमाडौं । पाकिस्तानले अफगानिस्तानभित्र पुनः हवाई आक्रमण गरेको छ। पाकिस्तानले उक्त कारबाहीमा २९ जना ‘आतंककारी’ मारिएको दाबी गरेको छ भने तालिबान नेतृत्वको अफगानिस्तान सरकारले सर्वसाधारणमाथि आक्रमण भएको आरोप लगाएको छ।
पाकिस्तानी सरकारी अधिकारीहरूका अनुसार गोप्य सूचनाका आधारमा सुरक्षाबलले आइतबार राति अफगानिस्तानभित्र सैन्य अभियान सञ्चालन गरेको थियो। सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा डुरान्ड रेखा नजिक योजनाबद्ध स्थलगत अभियान सञ्चालन गरी त्यसपछि जमात–उल–अहरार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का शिविर तथा ठेगानामाथि लक्षित हवाई आक्रमण गरिएको उल्लेख गरेका छन्।
तरारका अनुसार खैबर पख्तुनख्वाको बाजौर क्षेत्रमा सञ्चालन गरिएको स्थलगत अभियानमा ‘आतंककारी’ कमाण्डर खान फ्रोस (जबाल) सहित जमात–उल–अहरारका अन्य तीन सदस्य मारिएका छन् भने केही अन्य घाइते भएका छन्।
यता, अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने पाकिस्तानी आक्रमणमा सर्वसाधारणलाई निशाना बनाइएको आरोप लगाएका छन्। उनका अनुसार आक्रमणमा महिला र बालबालिकासमेत मारिएका तथा घाइते भएका छन्। उनले घटनाको निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण’ कार्यको संज्ञा दिएका छन्।
बीबीसीका अनुसार पाकिस्तानी हवाई आक्रमण अफगानिस्तानको कुनार प्रान्तको पूर्वी भाग तथा पक्तिया र पक्तिका प्रान्तका चामकानी र ज्ञान जिल्लामा गरिएको थियो। सबैभन्दा बढी क्षति पक्तिया प्रान्तको मण्डीखेल गाउँमा भएको बताइएको छ। तालिबान सरकारका सुरक्षा स्रोतलाई उद्धृत गर्दै बीबीसीले त्यहाँ करिब १०० जना मारिएका वा घाइते भएको जनाएको छ।
घटनाबारे पाकिस्तान र तालिबान सरकारका दाबी एकअर्कासँग बाझिएका छन्। हालसम्म स्वतन्त्र स्रोतबाट हताहतको संख्या वा घटनाको वास्तविक विवरण पुष्टि हुन सकेको छैन।
