`

वामपन्थी एकताको बहसअघि कसरी भयो पार्टी तहसनहस ?

Nepal One HD १५ असार २०८३ ११:४६
प्रमुख खबर

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वामपन्थी एकताको बहस सुरु गर्नुभन्दा पहिले विगतमा पार्टी विभाजन गराउने नेताहरूले आफ्ना निर्णयप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन्।

आइतबार मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरूले एउटै मञ्चबाट वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता औँल्याएका थिए। त्यसको भोलिपल्ट बाँस्कोटाले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उक्त बहसप्रति व्यंग्य गरेका हुन्।

उनले विगतमा पटक-पटक पार्टी फुटाएको नेतृत्वले त्यसबारे समीक्षा नगरी फेरि एकताको नारा अघि सार्नु विश्वसनीय नहुने संकेत गरे।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पटक पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ। भयंकर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो। सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भयो भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’

बाँस्कोटाको भनाइले पछिल्ला दिनमा पुनः चर्किएको वामपन्थी एकताको बहसमाथि प्रश्न उठाएको छ। उनका अनुसार एकताको नारा मात्र पर्याप्त नहुने, त्यसअघि विगतका विभाजनका कारण र त्यसबाट सिर्जित राजनीतिक क्षतिप्रति स्पष्ट आत्मसमीक्षा आवश्यक छ।

मदन भण्डारी स्मृति कार्यक्रममै विभिन्न वाम नेताहरूले सहकार्य र कार्यगत एकताको आवश्यकता औँल्याइरहेका बेला बाँस्कोटाको टिप्पणीले भने नेतृत्वको भूमिका र विश्वसनीयतामाथि बहस थप तीव्र बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *