`

सभामुख अर्यालको सांसदलाई निर्देशन : ‘ अब्बल बन्नुस्, मोबाइल र गफगाफमा समय नबिताउनुस्’

Nepal One HD १५ असार २०८३ १२:३५
प्रमुख खबर

काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्नो हरेक गतिविधिप्रति जिम्मेवार बन्न आग्रह गर्दै जनताले उनीहरूको काम, व्यवहार र प्रस्तुतिको निरन्तर मूल्यांकन गरिरहेको बताएका छन्।

उनले संसद्को प्रभावकारिता सांसदहरूको आचरण, अनुशासन र सक्रियतासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धामार्फत उत्कृष्ट प्रदर्शन गर्न आह्वान गरे।

संघीय संसद् सचिवालयले सिंहदरबारमा आयोजना गरेको सांसदहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले कार्यक्रममा सांसदहरूको न्यून तथा ढिलो उपस्थितिप्रति असन्तुष्टि पनि व्यक्त गरे। निर्धारित समयमै पर्याप्त सहभागिता हुन नसकेको उल्लेख गर्दै उनले समयपालन र जिम्मेवारीप्रति थप गम्भीर हुन सांसदहरूलाई आग्रह गरे।

उनले सांसदहरूको मूल्यांकन अब केवल पार्टी नेतृत्व वा सरकारका प्रमुखले मात्र नभई प्रत्यक्ष रूपमा आम नागरिकले गरिरहेको बताए।

‘हामी लाखौँ जनताले मत दिएर पठाएका जिम्मेवार प्रतिनिधि हौँ। कार्यक्रममा समयमै उपस्थित हुनेदेखि लिएर हाम्रा हरेक गतिविधिलाई जनताले नियालिरहेका छन्,’ उनले भने, ‘त्यसैले जनताको मूल्यांकनमा उत्कृष्ट बन्न राम्रो कानुन निर्माण, सभ्य व्यवहार र प्रभावकारी प्रस्तुतिमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ।’

सभामुख अर्यालले अभिमुखीकरण कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी सिकाइको अवसरका रूपमा लिन आग्रह गरे। विशेषगरी पहिलोपटक निर्वाचित भएका सांसदहरू संसदीय प्रक्रिया, नियम र अभ्यासबारे अझ अभ्यस्त हुनुपर्ने भएकाले यस्तो प्रशिक्षण उपयोगी हुने उनको भनाइ थियो।

उनले प्रशिक्षणका क्रममा मोबाइलमा व्यस्त नहुन, आपसमा अनावश्यक गफगाफ नगर्न र सम्पूर्ण समय सिकाइमा केन्द्रित हुन पनि सांसदहरूलाई सुझाव दिए।

‘समय र स्रोत खर्च गरेर यहाँ आइसकेपछि मोबाइलमा अल्झिने वा साइड टक गर्ने होइन, केही नयाँ कुरा सिकेर फर्किनुपर्छ,’ उनले भने, ‘यो दुईदिने अभिमुखीकरणको प्रभाव आगामी प्रतिनिधिसभा बैठकमा देखियोस्। त्यसको अनुभूति सभामुख, संसद् सचिवालय र सबैभन्दा बढी तपाईंहरूलाई निर्वाचित गर्ने मतदाताले गर्न पाउनुपर्छ।’

संघीय संसद् सचिवालयले आयोजना गरेको उक्त अभिमुखीकरण कार्यक्रममा संसदीय प्रक्रिया, विधेयक निर्माण, सदन सञ्चालन, संसदीय अभ्यास तथा सांसदको भूमिका सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने जनाएको छ।

कार्यक्रम सोमबारदेखि सुरु भएर मंगलबारसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *