विज्ञान तथा नवप्रवर्तन मन्त्रालयको ओएन्डएम तयार
काठमाडौं। नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) तयार भएको छ।
ओएन्डएम प्रतिवेदन अन्तिम रूप पाएसँगै मन्त्रालयको कानुनी र संस्थागत आधार निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार अब मन्त्रालय सञ्चालनका लागि आवश्यक कानुन तयार गर्ने काम सुरु हुनेछ। उनले विधेयक निर्माण प्रक्रिया पूरा गर्न कम्तीमा चार महिना लाग्ने अनुमान गरेका छन्।
मन्त्री पुनले मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीतिगत संरचना बलियो बनाउन चारवटा महत्वपूर्ण विधेयक तयार गर्ने तयारी गरेको जानकारी दिए। उनका अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन विधेयक, नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन विधेयक, उन्नत औद्योगिक प्रविधि (इन्डस्ट्री ४.०/५.०) प्रवर्द्धन विधेयक तथा रासायनिक पदार्थ व्यवस्थापन विधेयक निर्माणको काम अघि बढाइनेछ।
यससँगै हाल कार्यान्वयनमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन, २०४९ लाई पनि समयानुकूल परिमार्जन गर्ने तयारी मन्त्रालयले गरेको छ। संशोधित कानुनी व्यवस्थामार्फत विज्ञान तथा प्रविधि क्षेत्रलाई थप प्रभावकारी, अनुसन्धानमुखी र नवप्रवर्तनमैत्री बनाउने लक्ष्य राखिएको मन्त्रालयको भनाइ छ।
ओएन्डएम प्रतिवेदन तयार भएसँगै मन्त्रालयको प्रशासनिक संरचना, जनशक्ति व्यवस्थापन र कार्यक्षेत्र स्पष्ट भएको छ।
अब आवश्यक कानुनी आधार तयार भएपछि मन्त्रालयले विज्ञान, अनुसन्धान, प्रविधि विकास, स्टार्टअप प्रवर्द्धन तथा औद्योगिक आधुनिकीकरणका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
