`

बालेनलाई फकाउँदै बाबुरामकाे नजर राष्ट्रपतिमा ! (भिडियाे)

जङ्‍ग तामाङ १६ असार २०८३ १:०१
फिचर

काठमाडाैं । प्रधानमन्त्री बालेनले के बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउँदैछन् ? याे प्रश्न विगत केही महिनादेखि उठिरहेकाे छ ।

बाबुराम यतिबेला बालेनकाे कट्टर समर्थक बनेका छन् । राजनीतिक सल्लाहकार नभए पनि उनी बालेनलाई सल्लाहकार जसरी सुझाव दिन्छन् ।

प्रधानमन्त्री उनकाे सुझाव मान्छन् कि मान्दैनन् ? भन्न सकिँदैन । तर तत्कालीन एकीकृत नेकपा माओवादीबाट प्रधानमन्त्री भइसकेका उनी यतिबेला राष्ट्रपति हुन जाेडबल गरिहरेका छन् ।

 

तर बाबुरामले सार्वजनिक रूपमा आफू राष्ट्रपति बन्ने अभियानमा लागेको स्वीकार गरेका छैनन्। बरु उनले आफूमाथि लागेको यस्तो आरोपको खण्डन गर्दै आएका छन्।

तर, राजनीतिक वृत्तमा उनी र बालेनबीचको सम्बन्धलाई लिएर भावी राष्ट्रपतिमा अड्कलबाजी भने रोकिएको छैन।

यसको एउटा कारण उनीहरूको पछिल्ला गतिविधि हुन्।

१० पुस २०८२ मा प्रधानमन्त्री बन्नुअघि बालेन र बाबुरामबीच लामो गोप्य राजनीतिक छलफल भयाे । ललितपुरको ज्वागलस्थित बालेनका निकट सहयोगी कुमार बेनको घरमा भएको उक्त भेटलाई धेरै ठूलो राजनीतिक सन्देशका रूपमा हेरियो।

 

त्यहाँ दुई घण्टासम्म बालेनसँग बाबुरामले राजनीति, वैकल्पिक शक्ति र मुलुकको नेतृत्वबारे छलफल गरेका थिए । त्यसयता दुवै नेताबीचको संवाद निरन्तर रहँदै आएकाे छ ।

कुमार बेनलाई बालेनका चाणक्यु भनेर समेत चर्चा गरिन्छ। बालेनका राजनीतिक रणनीति निर्माण बेनले गर्दै आएका छन् । त्यसैले बालेनले उनकै निवासलाई बाबुरामसँगकाे संवाद थलो बनाएका थिए ।

त्यसपछि बाबुरामका सार्वजनिक अभिव्यक्तिहरू पनि क्रमशः बालेन नेतृत्वप्रति सकारात्मक सुनिँदै गयाे । प्रधानमन्त्री बनेपछि बाबुरामले पटक–पटक बालेन सरकारप्रतिआशा व्यक्त गरे।

यही असार १ गते उनले नेपालको अर्थतन्त्र गम्भीर संरचनात्मक संकटमा रहेको उल्लेख गर्दै बालेनले दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका थिए।

बालेन सरकारको उनी समर्थक भएपछि धेरैले राष्ट्रपति बन्न बाबुरामले बालेनकाे चाकडी गर्न खाेजेकाे बताउने गरेका छन् ।

यसबीच गत ३१ वैशाखमा गृहजिल्ला गोरखाबाट उनले सामाजिक सञ्जालमा लेखेको सन्देश अझ अर्थपूर्ण देखियो। उनले ऐतिहासिक पुस्तान्तरणसँगै बनेको बालेन सरकारबाट जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै सम्बन्धित सबैलाई ती अपेक्षा पूरा गर्न आग्रह गरे।

यसअघि पनि बाबुरामले नयाँ र वैकल्पिक शक्तिहरू एक भए आफ्नो समर्थन रहने बताएका थिए। नभन्दै रास्वपाबाट गाेरखा २ का उम्मेदवार कविन्द्र बुर्लाकाेटीलाई गत वर्षकाे २१ फागुनमा आफ्नाे उम्मेदवारी फिर्ता लिएर बाबुरामले सहयाेग गरेका थिए ।

अन्तत बुर्लाकाेटीले सहजै चुनाव जिते । बाबुरामकाे त्यो अभिव्यक्तिलाई अहिलेको राजनीतिक सन्दर्भसँग जोडेर हेर्नेहरू पनि छन्।

अर्को रोचक पक्ष रास्वपाप्रतिको उनको दृष्टिकोण हो। रास्वपाको महाधिवेशनमा सम्बोधन गर्दै बाबुरामले आफूले एक दशकभन्दा बढी समयदेखि अघि सारेको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि रास्वपा भएको बताएका थिए।

यसको अर्थ उनले परम्परागत दलभन्दा नयाँ पुस्ताको राजनीतिमा बढी सम्भावना देखिरहेका छन्। बालेन पनि परम्परागत दलभन्दा बाहिरबाट उदाएका नयाँ पुस्ताका नेता भएकाले बाबुरामको वैचारिक झुकाव उनीतर्फ देखिनु अस्वाभाविक मानिँदैन।

तर, यहीँ अर्को प्रश्न छ के बाबुरामको यो समर्थन वैचारिक हो वा यसमा भावी राष्ट्रपतिकाे सपना जाेडिएकाे छ ? याे सवाल रहस्यमयी छ । उसाे त
नेपालको राष्ट्रपति पद प्रत्यक्ष निर्वाचनबाट आउने पद होइन। संसद्को अंकगणित र राजनीतिक सहमतिबाट राष्ट्रपति चयन हुन्छ।

त्यसैले राष्ट्रपति बन्न चाहने कुनै पनि नेताले सत्ता नेतृत्वसँग राम्रो सम्बन्ध बनाउन खोज्नु स्वाभाविक राजनीतिक अभ्यास मानिन्छ। यही कारण बालेन र बाबुरामको निकटतालाई कतिपयले भावी राष्ट्रपति समीकरणसँग जोडेर विश्लेषण गरिरहेका छन्।

यद्यपि, रास्वपाकाे यही ७ असारमा भएकाे महाधिवेशनकाे खुला सत्रमा बाबुरामले प्रधानमन्त्री भएको मान्छे, के ललिपप खाने मैले यो उमेरमा ?’ भनेका थिए । बाबुराम स्वयंले आफू कुनै पदका लागि राजनीतिमा सक्रिय नरहेको बताउँदै आएका छन्।

उनले आफूले वैकल्पिक राजनीति र पुस्तान्तरणको पक्षमा मात्रै आवाज उठाइरहेको र त्याे धारकाे मूल शक्ति बालेनलाई प्रधानमन्त्री बनाउने दल रास्वपालाई मान्ने गरेका छन् । तर राजनीतिमा बाेलिन्छ एउटा र गरिन्छ अर्कृ ।

त्यसाे हुनाले पूर्वप्रधानमन्त्री भट्टराईकाे यस्ताे अभिव्यक्ति र वास्तविक रणनीति सधैं एउटै हुन्छन् भन्न नसकिने राजनटीतिक विश्लेषकहरू बताउँछन् ।बालेन र बाबुरामको सम्बन्ध पनि अहिले त्यही कोणबाट विश्लेषण भइरहेको छ।

बालेनलाई अनुभवहीन तर लोकप्रिय नेताका रूपमा हेरिन्छ। बाबुरामलाई अनुभवी, वैचारिक र राजनीतिक पृष्ठभूमि भएका राजनीतिज्ञका रूपमा चिनिन्छ। यस्तो अवस्थामा दुवैबीचको सहकार्यले नयाँ र पुरानो अनुभवको संयोजन खोजिएको हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक छ।

अर्कोतर्फ, बाबुरामको आफ्नै राजनीतिक यात्रा पनि उल्लेखनीय छ। सशस्त्र युद्धका प्रमुख योजनाकारमध्ये एक, गणतन्त्रपछिका पहिलो अर्थमन्त्री, पूर्वप्रधानमन्त्री, नयाँ शक्ति अभियानका अभियन्ता र पछि विभिन्न वैकल्पिक राजनीतिक प्रयासका नेतृत्वकर्ता भएर पनि उनले पछिल्ला वर्षहरूमा अपेक्षित राजनीतिक प्रभाव कायम राख्न सकेका छैनन्।

त्यसैले नयाँ पुस्ताको नेतृत्वसँग सहकार्य गरेर आफ्नो वैचारिक एजेन्डालाई निरन्तरता दिन खोजेको हुन सक्ने विश्लेषण पनि गरिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *