बँदेल धपाउन श्रीमानले थापेको पासोमा परेर श्रीमतीको मृत्यु
काठमाडौं। गुल्मीमा जङ्गली जनावर धपाउन बारीमा थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ।
घटनापछि प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका-५ मन्टारीकी ६० वर्षीया हुमकला भण्डारी गएराति करिब १:३० बजे विद्युतीय पासोमा परेर गम्भीर घाइते भएकी थिइन्।
उपचारका लागि तत्काल गुल्मी अस्पताल, तम्घास पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतकका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरबाट करिब १५० मिटर टाढा रहेको बारीमा बँदेल नियन्त्रण गर्ने उद्देश्यले विद्युत्को पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय पासो थापेका थिए। सोही पासोमा परेपछि हुमकला भण्डारीको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक प्रमाण संकलन गर्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ग्रामीण क्षेत्रमा बँदेल तथा अन्य जङ्गली जनावरबाट बाली जोगाउन अवैध रूपमा विद्युतीय पासो थाप्ने प्रवृत्ति देखिँदै आएको छ।
यस्ता पासोले मानव जीवनसमेत जोखिममा पार्ने भएकाले सुरक्षा निकायले यसअघि पनि यस्ता कार्य नगर्न पटक-पटक आग्रह गर्दै आएको छ।
