उता ४ सचिव अभाव, यता ६ सचिवलाई जिम्मेवारी छैन
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएपछि सचिवको दरबन्दी रहेका चार सरकारी निकाय सचिवविहीन भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरणअनुसार हाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र न्याय परिषद् सचिवालयमा सचिवको पद रिक्त रहेको छ।
यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने ६ सचिवलाई कुनै जिम्मेवारी नदिई अतिरिक्त समूह (जगेडा) मा राखिएको छ। गत जेठ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. गोविन्द शर्मा, डा. डिल्लीराम शर्मा, लोकनाथ पौड्याल, डा. कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरेलाई जगेडामा राख्ने निर्णय गरेको थियो।
जगेडामा रहेका सचिवमध्ये डुण्डुराज घिमिरे भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बाँकी पाँच सचिवलाई भने हालसम्म कुनै मन्त्रालय वा निकायको जिम्मेवारी नदिइएको अवस्था छ। एकातिर चार महत्वपूर्ण सरकारी निकाय सचिवविहीन छन् भने अर्कोतिर प्रधानमन्त्री कार्यालयमै सचिवहरू जिम्मेवारीविहीन रहनुले प्रशासनिक व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ।
