संसदबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित
काठमाडौं। प्रतिनिधिसभाले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उक्त प्रस्तावलाई प्रतिनिधिसभाले बहुमतले स्वीकृत गर्दै विधेयक पारित गरेको हो।
विधेयक पारित हुनुअघि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरूमाथि दफाबार छलफल गरिएको थियो। छलफलपछि संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरी आवश्यक प्रक्रिया पूरा गरिएको थियो।
सरकारले संसद् अधिवेशन सञ्चालनमा नरहेको समयमा सार्वजनिक खरिदसम्बन्धी व्यवस्था संशोधन गर्न अध्यादेश जारी गरेको थियो। सोही अध्यादेशलाई कानुनी मान्यता दिने उद्देश्यले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ संसदमा दर्ता गरिएको थियो।
प्रतिनिधिसभाबाट विधेयक पारित भएसँगै अध्यादेशमार्फत लागू गरिएका व्यवस्थालाई प्रतिस्थापन गर्ने कानुनी प्रक्रिया अगाडि बढेको छ। अब विधेयक राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरण भएपछि संशोधित व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ।
