`

कार्यकक्षमै ठेकदारबाट प्रमुख प्रशासकीय अधिकृत कुटिएपछि…

Nepal One HD १८ असार २०८३ १५:३७
प्रमुख खबर

काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत गाउँपालिकाको कार्यकक्षमै कुटिएका छन्।

घटनामा निर्माण व्यवसायी लालबहादुर तामाङसहित ६ जनाको समूह संलग्न रहेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवका अनुसार बिहीबार बिहान करिब ११ बजे केही व्यक्ति गाउँपालिकाको कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षको ढोका बन्द गरेर सामूहिक रूपमा हातपात गरेका थिए।

कुटपिटबाट घाइते भएका बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ। उनको शरीरका विभिन्न भागमा सामान्य चोटपटक लागेको बताइएको छ।

गाउँपालिकाका एक कर्मचारीका अनुसार खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट आफ्नो पक्षमा फैसला गराएपछि त्यसैको रिसमा आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ। उनका अनुसार उक्त मुद्दाको सुनुवाइ बुधबार जिल्ला अदालत चितवनमा भएको थियो र फैसला गाउँपालिकाको पक्षमा आएको थियो।

यद्यपि प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

यस घटनापछि इच्छाकामना गाउँपालिकाका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै किंगफिसर कन्स्ट्रक्सनका निर्माण व्यवसायी लालबहादुर तामाङसहित ६ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोप लगाएका छन्।

विज्ञप्तिमा आक्रमणकारीहरूले ज्यान मार्ने मनसायले कुटपिट गर्नुका साथै परिवारलाई समेत नछोड्ने भन्दै धम्की दिएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीको सुरक्षाको सुनिश्चितता गर्न कर्मचारीहरूले सम्बन्धित निकायसँग माग गरेका छन्। 

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *