`

डेढ दर्जनको चर्चा,८–९ मात्रै नियुक्ति

Nepal One HD २१ असार २०८३ १३:५४
प्रमुख खबर

काठमाडौं। लामो समयदेखि रिक्त रहेका विभिन्न मुलुकका नेपाली राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने तयारी सरकारले गरेको छ।

यसै सातादेखि नियुक्ति प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने तयारी भइरहेका बेला पहिलो चरणमा सीमित संख्यामा मात्रै राजदूत सिफारिस गरिने सम्भावना देखिएको छ।

उच्च सरकारी स्रोतका अनुसार राजदूत नियुक्ति प्रक्रिया दुई चरणमा अघि बढाइनेछ। पहिलो चरणमा परराष्ट्र सेवाका वरिष्ठ सहसचिवमध्येबाट केहीलाई राजदूतका लागि मन्त्रिपरिषद्ले सिफारिस गर्नेछ। त्यसपछि दोस्रो चरणमा खुला आवेदन दिएका उम्मेदवारमध्येबाट छनोट गरी बाँकी पदमा नियुक्तिको प्रक्रिया अघि बढाइने तयारी छ।

यसअघि सरकारले करिब डेढ दर्जन अर्थात् १७ रिक्त राजदूत पदमा नियुक्ति गर्ने तयारी गरेको चर्चा भए पनि पहिलो चरणमा सबै पदमा नियुक्ति नहुने देखिएको छ। प्रारम्भिक तयारीअनुसार पहिलो चरणमा आठ वा नौ जना उम्मेदवारको मात्रै नाम मन्त्रिपरिषद्बाट सिफारिस गरिने सम्भावना रहेको स्रोतले जनाएको छ।

खुला प्रतिस्पर्धामार्फत आवेदन दिएका करिब तीन हजार आवेदकमध्ये पनि सीमित संख्याका उम्मेदवारले मात्रै पहिलो चरणमा अवसर पाउने सम्भावना रहेको बताइएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शिष्टाचार महापाल कुमार खरेललाई अस्ट्रियाका लागि नेपाली राजदूत बनाउने तयारीसमेत भइरहेको छ।

मन्त्रिपरिषद्ले सिफारिस गरेका उम्मेदवारहरूको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ। सुनुवाइ प्रक्रिया पूरा भएपछि मात्रै राष्ट्रपतिबाट उनीहरूको औपचारिक नियुक्ति हुनेछ।

राजदूत नियुक्ति लामो समयदेखि रोकिँदा विभिन्न मुलुकस्थित नेपाली दूतावास नेतृत्वविहीन बनेका छन्। सरकारले चरणबद्ध रूपमा रिक्त पदपूर्ति गर्ने तयारी गरेसँगै कूटनीतिक नेतृत्वलाई पूर्णता दिने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *