`

विपक्षी दलको नेताले बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्छ

Nepal One HD २२ असार २०८३ १३:५८
राजनीति

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिप्रति टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले लोकतान्त्रिक मुलुकहरूमा विपक्षी दलका नेताले संसद्मा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने संसदीय अभ्यास रहेको उल्लेख गरे।

उनले भने, ‘संसद्मा जब–जब विपक्षी दलका नेता बोल्छन्, लोकतान्त्रिक शासन व्यवस्था भएका देशहरूमा प्रधानमन्त्री अगाडिको बेन्चमा बसेर मुस्कुराउँदै आफ्नो उपस्थिति जनाउने अभ्यास हुन्छ।’

आङ्देम्बेले विपक्षी दलका नेताले उठाउने विषय सरकारका लागि आलोचनामात्र नभई नीति र कार्यसम्पादन सुधारका लागि मार्गनिर्देशनसमेत हुने भएकाले प्रधानमन्त्रीको उपस्थितिलाई महत्वपूर्ण मानिने बताए।

उनले आफूले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री उपस्थित नहुने अनुमान पहिले नै गरेको उल्लेख गर्दै संसद्प्रति सरकारको जवाफदेहिता अझ सुदृढ हुनुपर्ने धारणा राखे।

आङ्देम्बेका अनुसार प्रधानमन्त्री संसद्मा उपस्थित भई विपक्षीका धारणा सुन्नु संसदीय लोकतन्त्रको महत्वपूर्ण अभ्यास हो। त्यसैले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन निरन्तर स्मरण गराइरहनु विपक्षीको पनि दायित्व रहेको उनले बताए।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर आङ्देम्बेको उक्त टिप्पणी संसद्मा विशेष रूपमा चर्चामा आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *