`

बाटोमा हिँडिरहेकी युवतीमाथि अश्लील हर्कत गर्ने ५५ वर्षीय भट्ट पक्राउ

Nepal One HD २२ असार २०८३ १४:४६
प्रमुख खबर

काठमाडौं। ललितपुरको इमाडोल क्षेत्रमा सडकमा हिँडिरहेकी एक युवतीप्रति अश्लील व्यवहार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गर्दै आरोपितलाई सोमबार इमाडोलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बाजुरा स्थायी घर भएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्रारम्भिक अनुसन्धानमा उनी सरकारी सेवामा कार्यरत शिक्षा अधिकृत रहेको खुलेको छ। यद्यपि, उनी कुन कार्यालयमा कार्यरत छन् भन्ने विषयमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार साँझ भएको घटनाबारे सोमबार जानकारी प्राप्त भएपछि तत्काल खोजी अभियान सञ्चालन गरिएको थियो। त्यसक्रममा भट्टलाई इमाडोल क्षेत्रबाट पक्राउ गरिएको हो।

घटनापछि प्रहरीले पीडित युवतीसँग पनि सम्पर्क गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पीडित युवती औपचारिक जाहेरी दर्ताका लागि प्रहरी कार्यालय आउँदै छिन्। जाहेरी दर्तापछि आरोपितविरुद्ध प्रचलित कानुनअनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

घटनाको भिडियो आइतबार साँझ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडियोमा एक पुरुषले युवतीतर्फ लक्षित गर्दै अश्लील हर्कत गरेको देखिएको दाबी गरिएको छ। त्यस क्रममा युवतीले प्रतिकार गर्दै घटनाको भिडियोसमेत खिचेकी थिइन्।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि घटनाको व्यापक चर्चा भएको छ। धेरैजसो यस्ता घटनामा पीडितहरू मौन रहने वा तत्काल त्यहाँबाट टाढिने अवस्था देखिने गरे पनि यस घटनामा युवतीले प्रतिकार गर्दै प्रमाण सुरक्षित गरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *