विधानविपरीत निर्णय स्वीकार्य छैन : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संस्थापनइतर समूहले उठाएका दुई प्रमुख माग वर्तमान विधानअनुसार पूरा गर्न नसकिने बताएका छन्।
कांग्रेसको जनसम्पर्क समिति जापानको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सभापति थापाले १४औँ महाधिवेशनबाट निर्वाचित १११ जना केन्द्रीय सदस्यलाई हालको केन्द्रीय समितिमा समायोजन गर्ने तथा क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया अनिवार्य नराख्ने माग विधानअनुकूल नभएको स्पष्ट पारे।
उनले पार्टीको विधानले अनुमति नदिने विषय कार्यान्वयन गर्न आफू इच्छुक भए पनि सम्भव नहुने बताए।
‘विधानले नदिएको कुरा मैले चाहेर पनि गर्न सक्दिनँ। क्रियाशील सदस्यताको अद्यावधिक नगरी पार्टी चलाउने कुरा विधानविपरीत मात्रै होइन, अव्यावहारिक र अराजनीतिक पनि हुन्छ,’ थापाले भने।
उनले विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय समिति गठन भइसकेको उल्लेख गर्दै अहिलेको समिति सम्पूर्ण कांग्रेसको साझा समिति भएको बताए।
सभापतिको हैसियतले आफूलाई प्राप्त अधिकार प्रयोग गर्दै सकेसम्म धेरै नेताहरूलाई जिम्मेवारी र सहभागितामा समेट्ने प्रतिबद्धता जनाउँदै उनले १४औँ महाधिवेशनका सबै १११ केन्द्रीय सदस्यलाई नयाँ समितिमा स्वतः समायोजन गर्ने व्यवस्था विधानमा नभएको स्पष्ट गरे।
पछिल्लो समय निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित १११ केन्द्रीय सदस्यलाई वर्तमान संरचनामा समायोजन गर्नुपर्ने तथा क्रियाशील सदस्यताको अद्यावधिकलाई अनिवार्य नबनाउनुपर्ने माग गर्दै आएका छन्।
यद्यपि सभापति थापाले १५औँ महाधिवेशनलाई सबै पक्षको अपनत्व हुने गरी सम्पन्न गर्न आफू सकारात्मक रहेको बताए।
उनले महाधिवेशनको मिति निर्धारण, सदस्यता छानबिन समिति, निर्वाचन समिति, अनुशासन समिति तथा महाधिवेशन व्यवस्थापन समितिको गठनजस्ता विषयमा संस्थापनइतर समूहसँग सहमति र सहकार्य गर्न आफू तयार रहेको धारणा व्यक्त गरे।
