रास्वपाको वरिष्ठ नेता बन्दै अमरेश?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक किचलो र बाहिरी विवादका बीच पार्टीले सांसद अमरेश कुमार सिंहलाई वरिष्ठ नेता बनाउने तयारी थालेको छ । एक उच्च स्रोतका पार्टीभित्रै आन्तरिक सहमति अन्तिम चरणमा पुगे सिंह वरिष्ठ बन्नेछन्।
स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछाने सांसद सिंहलाई वरिष्ठ नेता बनाउन सकारात्मक छन्। यदि यो निर्णय अन्तिम भएको अवस्थामा रास्वपमा प्रधानमन्त्री बालेन शाह र सांसद सिंह गरी दुई जना वरिष्ठ नेता हुनेछन्।
सिंह गत २१ फागुनको निर्वाचनको मुखमा रास्वपा प्रवेश गरेका थिए। निर्वाचनको बेला ‘गगनले हार्दैछन्’, ‘प्रधानमन्त्री बालेन नभए आफूले आत्मदाह गर्ने’ भन्दै दिएको अभिव्यक्तिले उनी राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहे। चुनावताका उनले गरेको त्यो विश्लेषण सही पनि साबित भयो। अमरेशलाई यी सबै कुरा कसरी थाहा थियो? अहिले पनि राजनीतिक वृत्तमा प्रश्न उठ्ने गर्छ।
सांसद सिंहको राजनीतिक यात्रा उतारचढावपूर्ण रहँदै आएको छ। कुनै समय नेपाली कांग्रेसको टिकट अस्वीकृत भएपछि उनी २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा भने उनले सर्लाही-४ मा कांग्रेस सभापति गगन थापालाई पराजित गरेका थिए ।
गएको निर्वाचनमा मधेशमा रास्वपाले ठुलो जनमत प्राप्त गर्यो। मधेसमा रहेका ३२ प्रतिनिधिसभा सिटमध्ये ३० सिट जितेको रास्वपाले समानुपातिक प्रणालीमा पनि उस्तै मत प्राप्त गर्यो। भनिन्छ, यसका सुत्रधार सिंह नै हुन्। उनी रास्वपामा सबैभन्दा बढी संसदमा पुग्ने नेता हुन्। संविधान निर्माणताका देखि जेनजी विद्रोहसम्मका सबै संसदमा सिंहले आफ्नो उपस्थिति जनाउदै आएका छन्।
केही समय अगाडि मात्रै सिंहले वर्तमान सरकारले संविधान संशोधन गर्न नसक्ने बताएका थिए। सरकारले बनाएको संविधान संशोधन कार्यदललाई व्यंग्य गर्दै ‘हु इज असिम शाह’ भनेका सिंहले संविधान संशोधनको लागि यो कार्यदलको कुनै हैसियत नभएको बताएका थिए। बालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री स्वर्णिम वाग्ले विरुद्द चर्को सुनिने उनले नेपाली लोकतन्त्र पाकिस्तानी शासन सत्ताको बाटोमा रहेको बताएका थिए।
रास्वपाभित्र उनलाई बागी सांसदको रुपमा हेरिन्छ। संसदमा रास्वपाबाट आफ्नै सरकारविरुद्द चर्को सुनिने उनी एकमात्रै नेता हुन्।
सिंह गत ७ देखि १२ असारसम्म चलेको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा पनि सहभागी भएका थिएनन्। त्यतिबेला उनलाई आफ्नै पार्टीको महाधिवेशन बहिष्कार गरेको आरोप पनि लागेको थियो।
यी विभिन्न कारणहरुले गर्दा रास्वपाभित्र उनलाई प्रभावशाली नेताका रुपमा हेरिन्छ। स्रोतको दाबी अनुसार चितवन महाधिवेशनमा महामन्त्रीमा पराजित मनिष झा ले सिंहलाई वरिष्ठ नेता बनाउन लबिङ गरिरहेका छन्।
सिंहको राजनीतिक शैली विवादास्पद रहँदै आएको छ। संसदमा उनी आफ्नो आक्रामक शैलीका लागि चिनिन्छन्। उनी प्रायः सरकारको विश्वासको मतमा सहमति जनाउने तर त्यसपछि कडा विपक्षी भूमिका निर्वाह गर्ने गर्छन् ।
सभापति लामिछाने र सिंहको सम्बन्ध पहिलेदेखि नै सन्तुलित रहेको देखिन्छ। यसअघि नै सिंहले लामिछानेको रिहाईको समर्थनमा रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा समेत सहभागी भएका थिए ।
अहिलेको यो निर्णयले पार्टीभित्रको आन्तरिक कलहलाई मत्थर पार्ने विश्लेषण हुन थालेको छ। प्रधानमन्त्री बालेन शाह र अमरेश सिंह दुवै वरिष्ठ नेता हुने भएपछि पार्टीमा वरिष्ठ नेताको संख्या दुई पुग्नेछ।
