सभामुखलाई प्रश्न, ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’[भिडियाे]
काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राई र सभामुख डोलप्रसाद अर्यालबीच केहीबेर भनाभन भएको छ।
बैठकको सुरुमै राईले सभामुखलाई लक्षित गर्दै, ‘तपाईंले कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै प्रश्न उठाएपछि संसद् बैठक एमालेले विरोध गरेको छ।
सभामुख अर्यालले उक्त अभिव्यक्तिलाई संसदीय मर्यादाविपरीत भएको भन्दै तत्काल आपत्ति जनाएका थिए। उनले सांसद राईलाई आफ्नो भनाइ मर्यादित बनाउन आग्रह गर्दै संसद्को गरिमा कायम राख्न सबै सदस्यलाई सचेत गराए।
तर, राईले आफ्नो भनाइलाई निरन्तरता दिन खोजेपछि सभामुखले उनलाई बोल्नका लागि छुट्याइएको समय नदिने घोषणा गरे। सभामुखले बैठक सञ्चालनका क्रममा संसदीय नियम र प्रक्रियाको पालना गर्नुपर्ने भन्दै अमर्यादित अभिव्यक्तिलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे।
घटनापछि एमाले सांसदहरूले सभामुखको निर्णयप्रति असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन्। उनीहरूले आफ्नो दलका सांसदलाई बोल्न नदिएको भन्दै आपत्ति उठाएका छन्।
संसद्मा देखिएको यस घटनाले सभामुख र प्रमुख प्रतिपक्षबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ। यद्यपि, सभामुखले संसदीय अनुशासन र मर्यादा कायम राख्न नियमअनुसार नै निर्णय गरिएको बताएका छन्।
