मोदी किन अस्ट्रेलिया पुगे?
मेलबर्न । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सहकार्य, महत्वपूर्ण खनिजको आपूर्ति तथा युरेनियम सुरक्षासम्बन्धी उच्चस्तरीय वार्ताका लागि अष्ट्रेलिया भ्रमणमा पुगेका छन्।
भ्रमणका क्रममा मोदीले बिहीबार अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दुई नेताबीच रक्षा सहकार्य, स्वच्छ ऊर्जाका लागि आवश्यक खनिजहरूको आपूर्ति, युरेनियम व्यापार तथा क्षेत्रीय सुरक्षालगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
मेलबर्नमा आयोजना गरिएको सामुदायिक कार्यक्रममा मोदीलाई भव्य स्वागत गर्ने तयारी गरिएको छ। उक्त कार्यक्रममा २० हजारभन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ।
विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा भारत र अष्ट्रेलियाबीचको रणनीतिक साझेदारी उल्लेखनीय रूपमा सुदृढ हुँदै गएको छ। अष्ट्रेलिया–भारत इन्स्टिच्युटकी तिस्ता प्रकाशका अनुसार ऐतिहासिक रूपमा दुवै देशबीचको सम्बन्ध उतारचढावपूर्ण रहे पनि वर्तमान भू–राजनीतिक परिस्थितिले उनीहरूलाई थप नजिक ल्याएको छ।
भारतले आगामी वर्षहरूमा आफ्नो आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजना अघि सारेको छ। यसका लागि विश्वसनीय युरेनियम आपूर्ति सुनिश्चित गर्नु उसको प्राथमिकतामा परेको छ। विश्व आणविक सङ्घका अनुसार अष्ट्रेलियासँग विश्वको करिब २८ प्रतिशत युरेनियम भण्डार रहेको छ।
भारत र अष्ट्रेलियाले सन् २०१५ मै आणविक सहकार्यसम्बन्धी सम्झौता गरेका थिए। त्यसले युरेनियम निर्यातको बाटो खोले पनि केही कानुनी र प्रशासनिक प्रक्रियाका कारण व्यापार अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।
यस्तै, विद्युतीय सवारीसाधनको उत्पादन र प्रयोग विस्तार गर्ने योजनाअन्तर्गत भारत लिथियमसहितका महत्वपूर्ण खनिजको दीर्घकालीन आपूर्ति सुनिश्चित गर्न चाहन्छ। अष्ट्रेलिया लिथियमको प्रमुख उत्पादकमध्ये एक भएकाले यस क्षेत्रमा पनि सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।
अष्ट्रेलिया, भारत, संयुक्त राज्य अमेरिका र जापान ‘क्वाड’ समूहका सदस्य राष्ट्र हुन्। हिन्द–प्रशान्त क्षेत्रमा बढ्दो रणनीतिक प्रतिस्पर्धाका बीच क्वाडलाई क्षेत्रीय सुरक्षा र सहकार्यका लागि महत्वपूर्ण संयन्त्रका रूपमा हेरिन्छ। यसै सन्दर्भमा भारत र अष्ट्रेलियाले रक्षा तथा सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने दिशामा पनि छलफल गर्ने अपेक्षा गरिएको छ।
