बल पासिङमा रोड्रीको दबदबा
काठमाडाैं। फुटबलमा पास गर्ने कला महत्वपुर्ण मानिन्छ। फिफा विश्वकप क्वार्टरफाइनलका खेल सुरु हुन लाग्दा फिफाको तथ्याङ्कअनुसार टोलीको आक्रमण निर्माण र बल पोजेसनमा सबैभन्दा बढी योगदान पुर्याउने खेलाडीहरूको सूचीमा रोड्री, पाउ कुबार्सी, ग्याब्रियल मागाल्हाएसजस्ता डिफेन्सिभ मिडफिल्डर र डिफेन्डरहरूले पासिङ शिर्ष स्थानमा छन्।
स्पेनका मिडफिल्डर ३० वर्षीय रोड्री सर्वाधिक ५ सय २६ पास गर्दै यो सूचीको शिर्ष स्थानमा छन्। उनको पासिङ सटीकता ९४ प्रतिशत रहेको छ, जसले गर्दा उनी आफ्नो टोलीको खेलको मेरुदण्डको रूपमा देखिन्छन्। रोड्रीले २ क्रस, १३ डिफेन्सिभ लाइनब्रेक र ३ स्विच अफ प्ले प्रयास गरेका छन्। उनको यो प्रदर्शनले उनी मैदानको केन्द्रमा कसरी खेलको गति निर्धारण गर्छन् भन्ने देखाउँछ।
दोस्रो स्थानमा अर्का स्पेनीस् खेलाडी, युवा डिफेन्डर पाउ कुबार्सी छन्। उनले ४ सय ४१ पास गरेका छन् र उनको सटीकता ९७ प्रतिशत छ। जुन सूचीमै सबैभन्दा उच्च हो। १८ वर्षीय यी डिफेन्डरले चार लाइनब्रेक र एक स्विच अफ प्ले प्रयास गरेका छन्, र उनको पासिङ शुद्धता उनको परिपक्वताको प्रमाण हो।
४ सय ३१ पास र ९६ प्रतिशतका साथ ब्राजिलका डिफेन्डर ग्याब्रियल मागाल्हाएस तेस्रो स्थानमा छन्।
४ सय २७ पास, ९४ प्रतिशत सटिकताका साथ चौथो स्थानमा स्पेनका अयमेरिक लापोर्टे छन्। जसले ८ लाइनब्रेक र ७ स्विच अफ प्ले प्रयास गरेका छन्, र स्विच अफ प्लेमा सय प्रतिशत सटीकता कायम राखेका छन्।
स्विजरल्याण्डका म्यानुएल आकान्जी ४ सय २४ पास ९३ प्रतिशत सटिकता सहित यो सूचीको पाँचौं स्थानमा छन्। उनले ६ लाइनब्रेक र ७ स्विच अफ प्ले प्रयास गरेका छन्। यी सबै डिफेन्डरहरूको शीर्ष स्थानमा रहनुले आधुनिक फुटबलमा गोलरक्षकदेखि अग्रपंक्तिसम्म सबैले पासिङमा निपुण हुनु अनिवार्य भएको सङ्केत गर्छ।
छैटौं स्थानमा पोर्चुगलका मिडफिल्डर भिटिन्या छन्। उनले ११ स्विच अफ प्ले प्रयास गरेका छन्, जुन शीर्ष दसमध्ये सबैभन्दा बढी हो । यसले उनी फराकिलो क्षेत्रमा खेल सार्ने माहिर हुन् भनी देखाउँछ।
यी तथ्याङ्कले देखाउँछ कि फिफा विश्वकपमा सबैभन्दा बढी पास गर्ने खेलाडीहरूमध्ये अधिकांश डिफेन्डर वा रक्षात्मक मिडफिल्डर छन्। यो कुनै आश्चर्यको कुरा होइन, किनभने यी खेलाडीहरूले नै पछाडिबाट खेल सुरु गर्छन् र सबैभन्दा बढी बल देख्छन्।
उनीहरूको पासिङ सटीकता ९० प्रतिशत भन्दा माथि छ, जसले उनीहरूले दबाबमा पनि बल सुरक्षित राख्न सक्ने क्षमता देखाउँछ। विशेषगरी रोड्री, कुबार्सी, र ग्याब्रियलको पासिङ सटीकता ९४ प्रतिशत भन्दा माथि हुनु उत्कृष्ट हो।
अर्को महत्वपूर्ण पक्ष भनेको ‘स्विच अफ प्ले’ मैदानको एक किनारबाट अर्को किनारमा लामो पास गर्ने क्षमता हो। यसमा भिटिन्या , मान्डी , जाका शिर्ष स्थानमा छन्, र उनीहरूको सटीकता उच्च रहेको छ।
त्यस्तै, ‘डिफेन्सिभ लाइनब्रेक’ अर्थात प्रतिद्वन्द्वीको रक्षापंक्ति भेद्ने पासमा रोड्री, जाका, लापोर्टे, बेन सेबाइनी अगाडि छन्। यद्यपि यसको सटीकता भने फरक-फरक छ। रोड्रीको सटीकता ९२ प्रतिशत रहँदा बेन सेबाइनीको ३८ प्रतिशत मात्र छ। यसले रोड्रीको निर्णय क्षमता कति उत्कृष्ट छ भनी दर्शाउँछ।
क्रसिङको कुरा गर्दा हाकिमी एक्लै उदाहरण हुन्। अरू धेरैले क्रस नै गरेका छैनन् । हाकिमीको ३३ क्रस प्रयासले उनी कति अगाडि बढेर आक्रमणमा सहभागी हुन्छन् भन्ने बताउँछ।
यी तथ्याङ्कहरूले आधुनिक प्रशिक्षकहरूलाई बहुमूल्य सूचना प्रदान गर्छन्। कुन खेलाडीले बललाई कसरी अगाडि बढाउँछन्, कहाँ पास गर्ने गल्ती हुन्छ, र कसरी प्रतिद्वन्द्वीको दबाबलाई चिर्न सकिन्छ भन्ने। उच्च पासिङ सटीकता र लाइनब्रेक क्षमता भएका खेलाडीहरू टोलीको खेललाई प्रभावकारी बनाउन महत्वपूर्ण हुन्छन्।
