…जब फिनल्यान्डमा बेपत्ता भारतीय विद्यार्थीको शव समुद्रमा भेटियो
एजेन्सी। फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित समुद्री क्षेत्रमा भारतको हैदराबादका १८ वर्षीय विद्यार्थी मणिदीप रेड्डी गुज्जाको शव फेला परेको छ। गत मे ५ देखि बेपत्ता रहेका उनको शव करिब दुई महिनापछि फेला परेको हो। परिवारका कानुनी प्रतिनिधि केएलबी कुमारले आइतबार शव फेला परेको पुष्टि गरेका छन्।
परिवारले घटनालाई शंकास्पद भन्दै अनुसन्धानमाथि प्रश्न उठाएको छ। दुई महिनासम्म शव फेला नपर्नु र अनुसन्धान प्रभावकारी रूपमा अघि नबढेको भन्दै उनीहरूले निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्।
फिनल्यान्डस्थित भारतीय दूतावासले जुलाई १० मा हेलसिन्कीको समुद्री क्षेत्रमा भेटिएको शव मणिदीपकै भएको पुष्टि गर्दै परिवारलाई आधिकारिक जानकारी दिएको थियो। छोराको खोजीका लागि उनका बुबा जी. मुथ्यम रेड्डी र आमा ममता रेड्डीले यसअघि तेलंगाना उच्च अदालतमा समेत निवेदन दिएका थिए।
मणिदीप फिनल्यान्डको लापेनरान्टा–लाहटी युनिभर्सिटी अफ टेक्नोलोजीको लाहटी क्याम्पसमा इन्जिनियरिङ स्नातक प्रथम वर्षमा अध्ययनरत थिए। सन् २०२५ मा उच्च शिक्षाका लागि फिनल्यान्ड पुगेका उनी लाहटी शहरमा बस्दै आएका थिए।
परिवारका अनुसार बेपत्ता हुनुअघि उनले आमालाई फोन गरेर पाँच हजार रुपैयाँ मागेका थिए। रकम पठाएको केही घण्टापछि उनी सम्पर्कविहीन भएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मणिदीप बसमार्फत लाहटीबाट हेलसिन्की पुगेका थिए। त्यहाँ उनी एक रेस्टुरेन्टमा खाना खाएको र सपिङ मलमा घुमिरहेको दृश्य सीसीटीभीमा देखिएको थियो। अन्तिम पटक उनलाई सपिङ सेन्टर नजिक हिँडिरहेको अवस्थामा देखिएको थियो। त्यसपछि उनको मोबाइल फोन बन्द भएको र उनीसँग कुनै सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।
घटनापछि परिवारले मणिदीप किन हेलसिन्की पुगे, उनीमाथि कुनै दबाब वा अन्य कारण थियो कि भन्ने विषयमा गहिरो अनुसन्धान गर्न माग गरेको छ। उनीहरूको भनाइमा घटनाको वास्तविक कारण अझै खुल्न बाँकी छ।
