`

अमेरिका–भारत व्यापार वार्ता निष्कर्षविहीन

Nepal One HD २९ असार २०८३ १४:४२
प्रमुख खबर

एजेन्सी। अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौता गर्ने उद्देश्यले भएको उच्चस्तरीय वार्ता कुनै निष्कर्षमा पुग्न सकेको छैन। लामो समयदेखि जारी छलफलपछि पनि दुवै देशले प्रमुख मुद्दामा सहमति जुटाउन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

समाचारअनुसार गत महिना नयाँ दिल्लीमा भएको वार्तामा दुवै पक्षले व्यापारिक सहकार्य विस्तारबारे छलफल गरे पनि ट्यारिफ र बजार पहुँचसम्बन्धी विषयमा मतभेद कायम रहेपछि अन्तरिम सम्झौता हुन सकेन।

वार्ताबारे जानकारी राख्ने एक भारतीय अधिकारीका अनुसार भारतले चीनजस्ता प्रतिस्पर्धी मुलुकसरह वा सोभन्दा अनुकूल ट्यारिफ सुविधा माग गरेको थियो। तर, अमेरिकाले त्यसमा सहमति नजनाएपछि भारतले प्रस्तावित अन्तरिम सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको बताइएको छ।

अमेरिकी व्यापार प्रतिनिधि ज्यामिसन ग्रीर गत महिना भारत भ्रमणमा पुगेर भारतीय अधिकारीहरूसँग व्यापार सम्बन्धका विभिन्न विषयमा छलफल गरेका थिए। उनको भ्रमणपछि दुवै देशबीच अन्तरिम सम्झौता हुने अपेक्षा गरिएको थियो। तर, प्रमुख मुद्दामा सहमति नबन्दा वार्ता निष्कर्षविहीन बनेको हो।

भारतीय अधिकारीले रोयटर्ससँग भनेका छन्, ‘भारतका हित सुरक्षित नहुने वा कृषि क्षेत्रलगायत संवेदनशील विषयमा अनावश्यक सम्झौता गर्नुपर्ने अवस्था आएमा हामी कुनै पनि सम्झौता हतारमा गर्दैनौँ।’

ग्रीरको भ्रमणपछि भारतका वाणिज्यमन्त्री पीयूष गोयलले पनि भारतको हित सुनिश्चित नभएसम्म कुनै व्यापार सम्झौता कार्यान्वयन नगर्ने स्पष्ट पारेका थिए। उनको अभिव्यक्तिलाई अमेरिकाको सम्भावित उच्च ट्यारिफ नीतिप्रति भारतको कडा अडानका रूपमा हेरिएको थियो।

हाल अमेरिकाले भारतबाट आयात हुने अधिकांश वस्तुमा १० प्रतिशत ट्यारिफ लगाउँदै आएको छ। तर, यही महिनाको अन्त्यसम्ममा उक्त ट्यारिफ थप बढ्न सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *