संसदमा राप्रपाको प्रश्न, ‘राती नै मृत्यु भएको गणेश नेपाली प्रकरणमा किन नाटक गरेको?’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको उपचार र सरकारी भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले गणेश नेपालीको उपचारका क्रममा सरकारले पर्याप्त संवेदनशीलता नदेखाएको आरोप लगाए। उनले घटनासम्बन्धी सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे।
शाहीले बिरामीको उपचार प्रक्रिया र सरकारी गतिविधिबारे प्रश्न उठाउँदै, यदि गणेश नेपालीको मृत्यु पहिले नै भइसकेको थियो भने त्यसपछि रातारात विमानस्थलमा गरिएको गतिविधिको औचित्यबारे सरकार स्पष्ट हुनुपर्ने बताए।
‘यदि बिरामीको मृत्यु पहिले नै भइसकेको थियो भने रातारात विमानस्थलमा नाटक किन मञ्चन गरियो ? यसको जवाफ सरकारले दिनुपर्छ,’ उनले प्रतिनिधिसभामा भने।
उनले घटनाको निष्पक्ष छानबिन गरी उपचार प्रक्रिया, निर्णय र त्यसक्रममा भएका सम्पूर्ण गतिविधिबारे संसद् र जनतालाई स्पष्ट जानकारी गराउन सरकारसँग माग गरे।
