`

निष्कल राईले किन गरे हिरण्यकश्यपसँग बालेनको तुलना?

रामचन्द्र जाेशी ३० असार २०८३ १७:४१
नेपाली कांग्रेस

काठमाडाैं। मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक निष्कल राईले नरसिंह अवतारका कुख्यात पात्र हिरण्यकश्यपसँग प्रधानमन्त्री बालेन शाहको तुलना गर्दै, ‘श्री ८’ को सरकारलाई प्रश्न गर्न नपाइने हो भने भन्ने टिप्पणी गरे। त्यसक्रममा उनले प्रधानमन्त्री शाह एउटै व्यक्ति हुन् कि फरक–फरक व्यक्ति हुन् भन्ने प्रश्नसमेत गरे।

राईले प्रश्न सोध्ने मानिसको मुख सरकारले थुन्न खोजेको आरोप लगाए। उनका अनुसार सोमबार मिडिया हाउसको अगाडि गाडी राखेर तर्साउन खोज्ने प्रवृत्ति, जेनजी अभियन्ता माजिद अन्सारीलाई गैरकानुनी रूपमा गिरफ्तार गर्ने कार्य बालेन सरकारको अधिनायकवादी चरित्र हो, जुन हिरण्यकश्यपको चरित्रसँग मेल खान्छ।

हिरण्यकश्यप त्यही पात्र हुन्, जसले आफ्नै छोरा प्रह्लादलाई मार्न होलिकासँग मिलेर विष पिलाउने षड्यन्त्र गरेका थिए। राईले पनि बालेनलाई उनै हिरण्यकश्यपसँग तुलना गर्दै ‘श्री ८’ को शैलीमा सुकुम्बासी नागरिकमाथि बज्रपात मच्चाइएको दाबी गरे। उनका अनुसार राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपाली प्रकरण पनि बालेनको हुकुमी शैलीका कारण घटेको हो।

अहिले सरकारको आलोचना गर्नेहरूमाथि कारबाहीको भय पैदा गर्न खोजिएको राईको दाबी छ। सरकारले नागरिकको पीडालाई एउटा अवसरका रूपमा प्रयोग गरिरहेको उनले जिकिर गरे।

‘यो सरकार भन्दैछ– तँ बोल त्यतिमात्र, जे म सुन्न चाहन्छु। तँ हेर यतिमात्र, जति म देखाउन चाहन्छु। तँ सुन् त्यतिमात्र, जति म सुनाउन चाहन्छु।’ हिरण्यकश्यपलाई उद्धृत गर्दै राईले प्रतिनिधिसभा बैठकमा भने, ‘यो राज्यमा मभन्दा ठूलो कोही छैन। मभन्दा माथि कुनै ईश्वर छैन। अहिले सरकारले त्यही ठानिरहेको छ।’

हिरण्यकश्यपको अन्त्य आफ्नै छोराको हत्या गर्न खोज्दा भएको थियो। राईले उक्त प्रसङ्गसँग जोड्दै बालेन सरकारले जनतालाई हत्या गर्न बाध्य पारिरहेको बताए। हिरण्यकश्यपले प्रह्लादलाई सत्य बोल्न नदिएझैँ बालेन सरकारले पनि प्रश्न र आलोचनाको हत्या गर्न खोजेको राईको आरोप छ।

को हुन् हिरण्यकश्यप?

हिन्दू धर्मग्रन्थहरूमा वर्णित हिरण्यकश्यप शक्तिशाली असुर राजा, अहंकारको प्रतीक र भगवान् विष्णुका कट्टर विरोधीका रूपमा परिचित छन्। उनको कथा विशेषगरी भागवत पुराण, विष्णु पुराण र अन्य पुराणहरूमा विस्तारपूर्वक उल्लेख गरिएको छ। हिरण्यकश्यपको जीवन, उनको वरदान, छोरा प्रह्लादप्रतिको व्यवहार र अन्ततः भगवान् विष्णुको नरसिंह अवतारद्वारा भएको उनको वध हिन्दू धार्मिक परम्पराका सबैभन्दा चर्चित कथामध्ये एक मानिन्छ।

पौराणिक कथाअनुसार हिरण्यकश्यप असुर ऋषि कश्यप र उनकी पत्नी दितिका पुत्र थिए। उनका भाइ हिरण्याक्षलाई भगवान् विष्णुले वराह अवतार धारण गरी वध गरेपछि हिरण्यकश्यप विष्णुप्रति अत्यन्त क्रोधित बने। उनले विष्णुसँग बदला लिने अठोट गर्दै कठोर तपस्या आरम्भ गरे। हजारौँ वर्षसम्म गरिएको तपस्याबाट प्रसन्न भएर सृष्टिकर्ता ब्रह्माले उनलाई वरदान प्रदान गरेका थिए।

हिरण्यकश्यपले आफू कुनै मानिस वा जनावरबाट नमर्ने, न दिनमा, न रातमा, न घरभित्र, न घरबाहिर, न जमिनमा, न आकाशमा, न कुनै अस्त्रबाट, न शस्त्रबाट मारिन सक्ने वरदान मागेका थिए। यो वरदानले आफूलाई लगभग अमर बनाएको विश्वास गर्दै उनले तीनै लोकमा आफ्नो प्रभुत्व स्थापित गरे। त्यसपछि उनले आफूलाई नै सर्वश्रेष्ठ घोषणा गर्दै आफ्नै पूजा गर्न आदेश दिए। भगवान् विष्णुको नाम लिन र पूजा गर्नसमेत उनले प्रतिबन्ध लगाएका थिए।

तर उनका छोरा प्रह्लाद भने बाल्यकालदेखि नै भगवान् विष्णुका अनन्य भक्त थिए। पिताको आदेशविपरीत प्रह्लादले विष्णुभक्ति त्याग्न अस्वीकार गरे। यसबाट रिसाएका हिरण्यकश्यपले उनलाई अनेक यातना दिए। कहिले विष खुवाउने, कहिले हात्तीले कुल्चाउने, कहिले सर्पको बीचमा फाल्ने, त कहिले अग्निमा जलाउने प्रयास गरियो। तर प्रत्येक पटक भगवान् विष्णुको कृपाले प्रह्लाद सकुशल बच्न सफल भए।

हिरण्यकश्यपसँग सम्बन्धित अर्को चर्चित पात्र उनकी बहिनी होलिका हुन्। होलिकालाई आगोले असर नगर्ने वरदान प्राप्त भएको मानिन्छ। उनले प्रह्लादलाई काखमा राखेर आगोमा बस्ने योजना बनाइन्, तर भगवान्प्रतिको सच्चा भक्तिका कारण प्रह्लाद सुरक्षित रहे भने होलिका स्वयं आगोमा जलेर नष्ट भइन्। यही घटनाको स्मरणमा आज पनि होलिका दहन गरिन्छ, जुन होली पर्वको महत्वपूर्ण परम्परा हो।

हिरण्यकश्यपले प्रह्लादलाई चुनौती दिँदै ‘तिम्रो विष्णु कहाँ छन्?’ भनेर सोधेका थिए। प्रह्लादले भगवान् सर्वत्र रहेको उत्तर दिएपछि हिरण्यकश्यपले दरबारको एउटा स्तम्भमा प्रहार गरे। त्यही स्तम्भबाट भगवान् विष्णु नरसिंह अवतारमा प्रकट भए। नरसिंह न पूर्ण मानिस थिए, न पूर्ण सिंह। उनले साँझको समयमा, महलको चौखटमा, हिरण्यकश्यपलाई आफ्नै काखमा राखी नङले चिरेर वध गरे। यसरी ब्रह्माबाट प्राप्त वरदानका सबै सर्तहरू यथावत् राख्दै हिरण्यकश्यपको अन्त्य भएको मानिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *