हराएकी छात्रा मृत फेला
तनहुँ। देवघाट क्षेत्रबाट केही दिनअघि सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेकी छन्। नारायणी नदीमा सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले निरन्तर खोजी गरिरहेका बेला उनको शव नवलपुरको त्रिवेणीधाम क्षेत्रमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शवमा रहेको कपडा, हातमा लगाएको औँठी तथा कानमा लगाएको रिङका आधारमा परिवारका सदस्यले श्रेष्ठको पहिचान गरेका हुन्। धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि सम्पन्न भइसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हाल चितवनको गैँडाकोट नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी श्रेष्ठ गत असार १४ गते साँझ करिब ८ बजे बा.प्र.०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर डेराबाट निस्किएकी थिइन्। त्यसयता उनी परिवार र आफन्तको सम्पर्कमा आएकी थिइनन्।
खोजतलासका क्रममा उनको स्कुटर देवघाट गाउँपालिका–५ स्थित हनुमानचोकमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो। त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गणबाट गोताखोरसहितको टोली परिचालन गरी नारायणी नदी आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरिएको थियो।
श्रेष्ठ चितवनस्थित भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत छात्रा रहेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
