`

गलत नियत सच्याउन गाह्रो हुन्छ : रवि लामिछाने

Nepal One HD २ साउन २०८३ १३:३५
बिशेष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका निर्णयमा त्रुटि हुन सक्ने भए पनि जनतालाई अप्ठ्यारो पार्ने नीति आवश्यक परे परिवर्तन गर्न सकिने बताएका छन्। शुक्रबार रौतहटका विभिन्न पार्टी नेताहरूसँगको छलफलमा उनले सरकारको नियत र नीतिबीचको भिन्नताबारे धारणा राख्दै जनहितविपरीतका निर्णय सच्याउनुपर्ने बताएका हुन्।

लामिछानेले सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्ने उल्लेख गर्दै नियत खराब हुनु भने गम्भीर विषय भएको बताए। उनले भने, ‘सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ। दुई/चारवटा निर्णयले विवाद ल्याउन सक्छ।’

उनले किसान, मजदुर तथा गरिब-विपन्न वर्गलाई असर पार्ने कुनै पनि नीति दीर्घकालमा अनुपयुक्त देखिए परिवर्तन गर्न सकिने स्पष्ट पारे।

‘कुनै पनि सरकारले लिएको नीति किसानलाई अप्ठ्यारो पार्ने, मजदुर वर्गलाई अप्ठ्यारो पार्ने, गरिब-विपन्न वर्गलाई अप्ठ्यारो पार्ने कालान्तरमा देखिएको खण्डमा त्यस्ता कुनै पनि नीतिहरू परिवर्तन हुन्छन्। यो अपरिवर्तनीय कुरा होइन, परिवर्तन हुन सक्छ,’ उनले भने।

पार्टीका नेता-कार्यकर्ताले उठाएका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै लामिछानेले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन औपचारिक रूपमा पत्राचार गर्न आग्रह गरे। ‘आज तपाईँले भन्नुभएका कुराहरू मैले मनन गरेको छु। यसलाई औपचारिक रूपमा पत्रमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुहोस्। पार्टीले आफ्नो अभिभावकत्व लिनबाट कहिल्यै पछि हट्दैन। पार्टी अभिभावक हो, पार्टीले हेर्नेछ,’ उनले बताए।

नेतृत्वले दीर्घकालीन सोच र उद्देश्यका साथ नीति ल्याउने भए पनि कार्यान्वयनका क्रममा चुनौती आउन सक्ने उनको भनाइ थियो। ‘कहिलेकाहीँ व्यवहारमा उतार्न केही काम गरिन्छ। त्यसले धेरै ठूलो क्षति पुर्‍यायो भने रातारात परिवर्तन गर्नुपर्छ। तर कहिलेकाहीँ नेतृत्वले एउटा उद्देश्य र भिजनका साथ नीति ल्याएको हुन्छ। कार्यान्वयनका चुनौतीका कारण त्यसलाई असफल देखाउने भाष्य पनि सिर्जना हुन सक्छ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *